'महिला, दलित लगायतका उत्पीडित समुदायको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गर्नुपर्छ'

'महिला, दलित लगायतका उत्पीडित समुदायको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गर्नुपर्छ'

काठमाडौं : नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी)ले कांग्रेस र एमालेबीच भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साउदले २०७२ सालमा संविधान ल्याइसकेपछि पटक पटक सरकार परिवर्तन भएको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए। 

संविधान संशोधनका लागि राजनीतिक स्थिरताको आवश्यकता पर्ने बताउँदै उनले संशोधनका लागि विभिन्न पार्टी र पार्टीभित्रका दलहरूबीच, सरकार र प्रतिपक्षबीचमा पनि राष्ट्रिय सहमति हुनुपर्ने जिकिर गरे। 

सांसद साउदले महिला, आदिवासी-जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिलगायत सदियौँदेखि उत्पीडनमा पारेको समुदायले पाउँदै आएको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गर्नुपर्ने बताए।  

लोकतन्त्र, समावेशीता, अग्रगमनको सवालमा कसैले कसैलाई दोषारोपण गर्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै सांसद साउदले  संविधान संशोधनको सवालमा सबै दलहरू प्रतिबद्ध हुनुपर्ने बताए। 

संविधानभित्र भएका जटिलतालाई समाधान गर्नेबारे प्रतिपक्ष राजनीतिक दलपनि सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने उनको भनाई छ। 

भदौ १०, २०८१ मंगलबार १७:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।