'भारत भ्रमणबाट परराष्ट्रमन्त्री आरजुलाई आइरन लेडीको रूपमा स्थापित गरायो'

'भारत भ्रमणबाट परराष्ट्रमन्त्री आरजुलाई आइरन लेडीको रूपमा स्थापित गरायो'

काठमाडौं : नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ्ले भारत भ्रमणले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई 'आइरन लेडी'को रूपमा स्थापित गरेको दाबी गरेकी छन्। 

आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भारत भ्रमणमा मन्त्री राणाले उच्च सम्मान पाएको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिइन्।

‘परराष्ट्रमन्त्री राणाले भारत भ्रमणमा उच्च सम्मानकासाथ फर्किनुभएकोमा नेपाल-भारतलाई विशेष आभार। उक्त भ्रमणबाट परराष्ट्र मन्त्री आरजुलाई आइरन लेडीको रूपमा स्थापित गराएकोमा कांग्रेस सचेतकको हिसाबले धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्। 

भारतसहित अन्य देशबाट नेपाल आउने कूटनीतिक अधिकारीहरूले नेपालका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई सजिलै भेट्ने गरेको पाइन्छ। तर, दिल्ली जाँदा नेपाली अधिकारीहरूले त्यस्तो समान प्रकारको अवसर नपाएको देखिन्छ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निम्तोमा गत हप्ता भारत गएकी परराष्ट्रमन्त्री देउवाले यस पटकको भ्रमणमा भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताको अवसर पाएकी छन्। 

यसपटक दिल्लीले नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा गरेसँगै आगामी दिनमा नेपालले १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने परिस्थिति बनेको छ, कतिपयले यसलाई मन्त्री देउवालाई भारतले 'प्रधानमन्त्रीकै सम्मान' दिएको भन्दै टिप्पणी गरिरहेका छन्।  

भदौ १०, २०८१ मंगलबार १७:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।