संसद्बाट कांग्रेस-एमाले गठबन्धनलाई प्रचण्डले भने '...यो मेरो च्यालेञ्ज भयो'

संसद्बाट कांग्रेस-एमाले गठबन्धनलाई प्रचण्डले भने '...यो मेरो च्यालेञ्ज भयो'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर भएको बताए।

‘म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ। सरकारमाथि पहिलो वहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो,’ उनले भने, ‘तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ। संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ। माफियाहरूको सेवामा अग्रसर छ।’

अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए। 

उनले भने, ‘अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)का साथीहरू आफू मात्र मिल्नुभएको छैन, आफैले सिध्याउने भनेका जातीय-क्षेत्रीय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्ष बनाउनुभएको छ। संख्यात्मक रुपमा प्रतिपक्षीय बेन्च सानो भएको बेला संख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने साथीहरूलाई लागेको हामीले देख्यौं। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोष्टमबाट घोषणा गर्दछु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौं।’

प्रचण्डले लेखा समितिको सभापति प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैंसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिए। 

उनले भने, ‘प्रतिनिधिसभाको लेखा समिति पाउन ‘राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाड’सम्म भनिँदै छ। किनकि माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिङ्गै दुई तिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ। तर, सुन्नुहोस् कांग्रेस-एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईहरु हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न। यो मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईंहरुसँगै राख्नुस्।’

सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिँदै उनले प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी कसैलाई छ दुबैलाई आश्वस्त हुन आग्रहसमेत गरे।

धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुई तिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला? संख्यामा होला दुई तिहाइ तर, सरकारको जगमा विश्वास होइन, डर थियो र छ। यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भदेखि नै जनताका बीचमा ‘एक्सपोज’ थियो र अझ भइरहेको छ,’ उनले भने। 

भदौ १०, २०८१ मंगलबार १५:२२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।