संसद्मा प्रचण्ड : 'सुन्नुहोस् कांग्रेस-एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न'

संसद्मा प्रचण्ड : 'सुन्नुहोस् कांग्रेस-एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिको सभापति प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै आपत्ति जनाएका छन्। 


प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिए। 

‘संसदीय परम्परामा संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने गरेको छ। यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो,’ उनले भने, ‘प्रतिनिधिसभाको लेखा समिति पाउन ‘राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाड’सम्म भनिँदै छ। किन भनिँदै छ यस्तो? किनकि माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिङ्गै दुई तिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ। यसबीचमा लेखा समितिमा देखिएका दृश्यले त्यही भन्छन्। तर, सुन्नुहोस् कांग्रेस-एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईहरु हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न। मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईंहरुसँगै राख्नुस्।’

लेखा समिति लगायतमा सत्तापक्षका साथीहरूको डर आफूले बुझेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रतिपक्ष संसदमा संख्यामा सानो भए पनि इमानमा, प्रतिरोधमा, जनताको तर्फबाट खबरदारीमा कति सक्षम छ, पछिल्ला चालीस दिनले देखाएका बताए।

उनले भने, ‘यी चालीस दिनमा सरकार, स्वार्थ समूह अनि सामान्य जनतालाई पनि प्रस्ट भएको छ, यो प्रतिपक्ष भ्रष्टाचारमा हिस्सा लिने प्रतिपक्ष होइन। माफिया र स्वार्थ समूहहरूले मूल्य तोक्न सक्ने प्रतिपक्ष होइन शानदार भूमिकाका लागि प्रतिपक्षका साथीहरूलाई जनताका तर्फबाट मेरो अभिवादन छ।’ 

चालीस दिनमै सरकार स्वार्थ समूहहरूका पक्षमा खुला रुपमै उभिएको र त्यसले जनतामा आक्रोशको आगो ज्यामितीय रुपमा बढेको उल्लेख गर्दै उनले त्यसका झिल्का जताततै देखिँदै गएको र त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग होला कि भन्ने चिन्ता बढेको बताए। 

भदौ १०, २०८१ मंगलबार १५:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।