प्रचण्डलाई रघुजी पन्तको जवाफ ‘सत्ता छाड्दाको कस्तो छट्पट्टी, कोही आउँदैन फकाउन’

प्रचण्डलाई रघुजी पन्तको जवाफ ‘सत्ता छाड्दाको कस्तो छट्पट्टी, कोही आउँदैन फकाउन’

काठमाडौँ : माओवादी तत्काल सरकारमा नजाने भन्दै कांग्रेस र एमालेका नेताहरूलाई फकाउन नआउन पुष्पकमल दाहाल प्रचण्डले संसद्मा भनेपछि एमाले नेता रघुजी पन्तले भने’कोही आउँदैन फकाउन।‘

उनले सरकारको सय दिन नपुगी हत्तपत्त प्रमुख प्रतिपक्षी दलको नेताले सरकारको आलोचना नगर्ने नजिर बसेको तर त्यसलाई प्रचण्डले तोडेको भन्दै उनको आलोचना गरे।

सार्वजनिक लेखा समितिको सभापति नदिएकोमा आक्रोश व्यक्त गर्दै प्रचण्डले संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँ बन्नु भनेका थिए। त्यसको जवाफमा पन्तले भने ‘संविधान त पढ्नुस्। प्रमुख प्रतिपक्षी दलको पद तपाइले दिएर वा तपाईँले खोजेर पाउने हैन। त्यो संविधानले दिएको पद हो।’

सरकारबाट बाहिर बस्दा प्रचण्ड र माओवादीमा छटपटी र औडाहा भएको भन्दै उनले भने 'हिजो जता सत्ता त्यतै प्रचण्ड भनेर यो संसद्मा स्थापित गराउने को हो?, तपाई हैन? कसले गर्दा यो उत्पन्न भयो?’

उनले दुई ठूला दल मिलेर बनेको सरकार स्थिर हुने भन्दै प्रचण्डलाई जवाफ दिए ‘को आउँछ र अब फकाउन।’ 

उनले प्रचण्डसँग सत्ता माग्ने नैतिक आधार नभएको भन्दै प्रचण्ड भनेकै अवसरवादीको पहिचान बनिसकेको आरोप लगाए।

भदौ १०, २०८१ मंगलबार १५:००:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।