प्रचण्डले संसद्मा एमाले र कांग्रेसलाई भने ‘लौ न प्रचण्डजी भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला’

प्रचण्डले संसद्मा एमाले र कांग्रेसलाई भने ‘लौ न प्रचण्डजी भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला’

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट भएको माओवादीलाई सरकारको अस्थिरताको कारक भनेर बदनाम गराउने प्रयास गरेको भन्दै अब सरकार बनाउन लौ न प्रचण्डकी भन्दै फकाउन नआउन आग्रह गरे।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अब माओवादी सरकार बनाउने खेलमा नभएको दाबी गर्दै एमाले र नेपाली कांग्रेसलाई भने ‘तपाईँहरू मिलेर सरकार चलाउनुस्। तर लौ न प्रचण्डकी भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला।’

उनले माओवादी संविधान संशोधनबाट नभाग्ने भन्दै तर समावेशी र समानुपातिक अधिकार खोस्ने प्रयास गरेमा डटेर सामना गर्ने बताए।

उनले सरकारबाट बाहिर बस्दा माओवादी घाइते भएको सोचिरहेका होलान् भन्दै उनले सरकार छाड्नुपर्दा माओवादी घाइते नभएको बरु वैचारिक उन्मुक्तिबाट मुक्त भएको अनुभव भएको बताए।

‘कांग्रेस–एमालेका साथीहरूलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईहरु कहाँ सत्तामा हिस्सेदारी माग्न आउने छैन। माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन’उनले दाबी गरे ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरू भए। जनतासँग संवादका कमजोरी भए। व्यवहारका कमजोरी भए। वर्गीय पक्षधरताका कमजोरी भए। त्यही कमजोरीमा खेलेर अब तपाईहरु सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो। माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो। समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो।’

आफूलाई अस्थिरताको प्रतीक बनाउने प्रयास भएको भन्दै उनले ३२ सिट भएको पार्टीले एक्लै अस्थिरता ल्याउन अनि एक्लै सरकार फेर्न नसकिने भन्दै उनले भने ‘सरकारमा रहँदा प्रश्न सोध्न नैतिक रूपमा सङ्कटमा थिएँ। अहिले मुक्त भएको छु। माओवादीले चाहेर मात्र सरकार बदल्न सम्भव छ?, ठूला दलका नेताहरूको कुनै भूमिका छैन?’

माओवादीले धोका दिएको भन्दै बदनाम गराउने प्रयास भएको भन्दै उनले कांग्रेस र एमालेले पटक पटक माओवादीलाई धोका दिएको हिसाब गर्न आग्रह गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने ‘कसले बनाएको पहिलो पटक प्रधानमन्त्री? त्यसको हिसाब चाहिँदैन?’

उनले आफूमाथि धोकाको आरोप लगाउने साथीहरू सुन्नुस् भन्दै पुन प्रश्न सोधे ‘सत्ताको सम्झौता एक पटक मात्र कार्यान्वयन भएको छ। त्यो गर्ने पुष्पकमल दाहाल मात्रै हो।‘

उनले यो बिचमा माओवादीबाट केही गल्ती भएको स्वीकार गर्दै अब सशक्त प्रतिपक्षी दलको भूमिका खेलेर सरकारलाई खबरदारी गर्ने बताए। उनले अब माफियाको स्वार्थ अनुसार काम गर्न सम्भव नभएको दाबी गर्दै उनले भने ‘अब प्रतिपक्षी सशक्त छ। सपना पुरा हुनेछैन।‘

भदौ १०, २०८१ मंगलबार १४:४२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।