माफिया पोस्नका लागि सरकारलाई दुई तिहाई पनि पर्याप्त भएन : अध्यक्ष दाहाल

माफिया पोस्नका लागि सरकारलाई दुई तिहाई पनि पर्याप्त भएन : अध्यक्ष दाहाल

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफियालाई सेवा गर्नका लागि सरकारलाई दुई तिहाइ संख्या पनि पर्याप्त नभएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले विद्युत् प्राधिकरणमा आँखा गाडेर सरकारले माफियाहरू पोस्न थालेको बताएका हुन्।

उनले भने, ‘माफियाको यति धेरै सेवा गर्नुछ कि त्यसको लागि दुई तिहाइ समेत पर्याप्त छैन। लेखा समितिको सभापति पनि उहाँहरूलाई नै चाहियो। यसबीचमा लेखा समितिका देखिएका दृश्य त्यसको प्रमाण हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लेखा समिति मात्र नभएर प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी समेत सरकारले आफैँले राख्न चाहेको आरोप लगाए।

प्रचण्डले विपक्षी दलले ‘सत्यले शक्ति देखाउन संख्या हुनुपर्दैन’ भन्ने देखाइदिएको बताए। सरकार यति छिट्टै यतिसम्म एक्पोज हुँदा जनतामा निराशा बढेको बताए।

‘सरकार यति छिटो यो तहमा एक्पोज हुनु राम्रै हो तर म आज खुसी चाहिँ छैन,’ उनले थपे, ‘केहीदिनमा सरकार स्वार्थ समूहहरूका उभियो, त्यसले जनतामा निराशा बढ्यो।’

सरकारले गर्न नपर्ने सबै गर्ने तर गर्नपर्ने केही पनि नगर्ने काममा तल्लीन भएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आशायुक्त संस्थान भताभुङ्ग पार्न खोजेको आरोप लगाए।

उनले भने, ‘जहा आशा छ त्यहाँ प्रधानमन्त्रीलाई समस्या छ, जहाँ समस्या छ त्यसमा प्रधानमन्त्रीको चासो छैन।’

भदौ १०, २०८१ मंगलबार १४:२१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।