बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो

बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो

काठमाडौं : बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व संकलन भएको छ।

प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शिर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय  सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा तीन सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए। 

उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८१ दशमलव ८५ प्रतिशत अर्थात् २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व संकलन भएको छ। 

प्रदेश सरकारको आन्तरिक स्रोतबाट तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा लक्ष्यको ९७ दशमलव ५२ प्रतिशत अर्थात् तीन अर्ब ६६ करोड २० लाख २० हजार राजस्व मात्र संकलन भएको सूचना अधिकारी पौडेलले बताए। 

संघीय सरकारबाट १७ अर्ब ८१ करोड २३ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७७ दशमलव ०१ प्रतिशत अर्थात् १३ अर्ब ७१ करोड ७० लाख २६ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ। 

गत आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व संकलन भएको थियो। प्रदेश सरकारले आव २०७९/८० मा ५५ अर्ब ३१ करोड राजस्व संकलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड राजस्व संकलन गरेको थियो। 

प्रदेश सरकारले आव २०७९/८० मा विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार प्राप्त हुने अनुमान गरिएकोमा त्यसको १०५ दशमलव ४५ प्रतिशत अर्थात् ६६ अर्ब १२ करोड ६९ लाख २० हजार प्राप्त भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए।  

भदौ १०, २०८१ मंगलबार १४:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।