राष्ट्रपति पौडेल पाल्पामा, मुख्यमन्त्रीले गरे स्वागत

राष्ट्रपति पौडेल पाल्पामा, मुख्यमन्त्रीले गरे स्वागत

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रपति रामचन्द्र पौडेललाई पाल्पामा स्वागत गरेका छन्।

पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार यहाँ आएका राष्ट्रपति पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन्।

राष्ट्रपतिलाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ। यस्तै जात्रामा सहभागी हुन आएका संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मान वीर राइलाइ समेत स्वागत गरिएको छ।

तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ। लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस बर्ष सार्वजनिक विदा समेत दिएको छ।

नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ विजय उत्सव स्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ।

विश्वको भू-भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवाद लाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरूप सो जात्रा निकालिँदै आएको छ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रूपमा परिचित छ। कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथ लाई नै हालसम्म विजय जात्राको रुपमा संचालन गरिदै आइएको छ।

यसैबीच पाल्पा रणउजिरेश्वरी भगवती मन्दिरमा राष्ट्रपति रामचन्द्र पाैडेलले विधि पूर्वक पूजाआराधना गरेका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य सहित संघीय मन्त्री, प्रदेश सरकार मन्त्री, संघीय तथा प्रदेश सभा सदस्य, सुरक्षा नियकायका उच्च पदाधिकारीहरूकाे उपस्थिति छ।

भदौ १०, २०८१ मंगलबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।