निलम्बित महामन्त्री मुकुलमाथि रास्वपाको कारबाही, साधारण सदस्य समेत नरहने

निलम्बित महामन्त्री मुकुलमाथि रास्वपाको कारबाही, साधारण सदस्य समेत नरहने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको छ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै साधारण समस्य समेत नरहने गरी कारबाही गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने? भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो। ढकाल दुवैपटक दिएको स्पष्टीकरणमा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए।

लामिछानेको नैतिक धरातल नरहेको भन्दै उनले सहकारी ठगी गरेको, मन्त्रालयमा हुँदा भ्रष्टाचार गरेको र दोहोरो राहदानी प्रयोग गरेर अपराध प्रमाणित गर्न सक्ने चुनौती दिएका थिए।

२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो। ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन्।

आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्। रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन्।

भदौ १०, २०८१ मंगलबार १२:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।