पूजालाई फिल्म प्रचारको चटारो : टेम्पोमा स्टिकर टाँस्दै हिँडिन्, विद्यार्थीलाई रिलिज मिति घोकाइन्
काठमाडौं : आफ्नै लगानी रहेको फिल्म ‘रावायण’को प्रदर्शन मिति नजिकिँदै गर्दा अभिनेत्री पूजा शर्माको चटारो पनि बढेको छ।
भदौ २१ गते प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारप्रसारका लागि पूजा लगायतका फिल्म युनिट सडकदेखि स्कुल हुँदै कलेजसम्म प्रचारका लागि पुगेका छन्।
अटो, टेम्पोमा फिल्मको स्टिकर देख्न सकिन्छ भने स्कुल र कलेजका विद्यार्थीलाई रिलिज मिति समेत घोकाए। आइतबार चाबहिलको टेक्सास कलेजले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा पूजासहित निर्देशक सुदर्शन थापा एवं कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाह पुगे।
हलभरि कलेजका विद्यार्थीमाझ कलाकारले फिल्ममा भएको आफ्नो डाइलग सुनाउँदै विद्यार्थीलाई पटक-पटक प्रदर्शन मिति भन्न लगाउँदै घोकाए।
यसअघि पूजा अभिनित फिल्म ‘उपहार’ र ‘दान्भी’ निर्मातालाई डुबायो। यद्यपि पूजाको एक्सन अवतारको भने प्रशंसा भएको थियो।
अघिल्ला फिल्महरूले व्यावसायिक सफलता हासिल नगर्दा पूजालाई पनि यो फिल्म जसरी पनि सफल गराउनुपर्ने बाध्यता छ। त्यसैले पनि होला उनले प्रचारप्रसारमा कुनै कसर बाँकी छाडेकी छैनन्।
‘रावायण’ फिल्म सुरुवातदेखि नै लफडामा परेको फिल्म हो। फिल्मका निर्माता सुदर्शन थापाले अनमोल केसीलाई अनुबन्ध गरेका थिए। अनमोलले फिल्मको कथा पढिसकेपछि फिल्ममा काम नगर्ने भन्दै पैसा फिर्ता गरेकोपछि निर्माण टिमले उनलाई दुई दिन जेलसमेत पठाएको थियो।
‘यो सिनेमा लगभग लगभग सुरुवात गरेको तीन वर्ष भयो,’ निर्माता तथा निर्देशक थापाले भने, ‘यसको स्कृप्टदेखि आजसम्म आइपुग्दा यो सिनेमाले धेरै उताढ चढावहरु भोगेको छ।’
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा उनको र निर्देशक थापाको संयुक्त लगानी रहेको छ।
फिल्ममा पूजा र पलका अलवा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ।
यस फिल्मलाई निर्देशक थापाले नै कथा लेखेका हुन् भने शिवम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ। प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट तयार पारेका छन्।
भदौ ११, २०८१ मंगलबार ११:४४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।