साउदीमा मृत्युदण्ड सुनाइएका रामआषिश बुटवलमा, मृतकको परिवारसँग मागे माफी

साउदीमा मृत्युदण्ड सुनाइएका रामआषिश बुटवलमा, मृतकको परिवारसँग मागे माफी

बुटवल : साउदी अरेबियाको ताबुक क्रिमिनल कोर्टले मृत्युदण्डको सजाय सुनाएका धनुषाको जनकपुर नगरपालिका-१७ का रामआषिश यादव घर फर्किएका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा मृत्युको नजिक पुगेका यादवले जीवनदान पाएका हुन्।

सन् २०१८ सेप्टेम्बर ६ तारिखमा यादवको छुरा प्रहारबाट उनीसँगै काम गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका-४ का दुर्गाप्रसाद शर्माको ज्यान गएको थियो।

उक्त घटनामा २०२० डिसेम्बर २० मा साउदी अरेबियाको अदालतले पाँच वर्ष कैद र पीडित परिवारसँग ब्लडमनीमा सम्झौता नभए यादवलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो।

जसअनुसार यादवले पाँच वर्ष जेल जीवन काटिसकेका थिए। पीडित परिवारसँग ब्लडमनीको सम्झौता नभए उनलाई मृत्युदण्ड हुने निश्चित थियो।

गत असार २५ मा पीडित परिवारले ब्लडमनीबापत ४६ लाख २५ हजार नेपाली रुपैयाँ बुझाएका थिए। ब्लडमनीमा सम्झौता भएको विवरण दूतावासमार्फत साउदी पठाइएको डेढ महिनापछि यादव जेलमुक्त भएर स्वदेश फर्किएका हुन्।

रूपन्देहीका उद्योगी-व्यवसायीहरूले ३६ लाख २५ हजार अनि यादवकी श्रीमती रेनोकुमारीले आफ्नो भएको १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख गरी ४६ लाख २५ हजार रुपैयाँ ब्लडमनी जिल्ला प्रशासन कार्यालयमा मृतककी श्रीमती सीताकुमारी शर्मालाई हस्तान्तरण गरिएको थियो।

गत हप्ता काठमाडौं ओर्लिएका यादव सोमबार जनकपुरबाट श्रीमती, तीन छोरी र आफन्तसहित रुपन्देही आएर जिल्ला प्रशासन मार्फत गल्तीको प्रायश्चित गर्दै पीडित परिवारसँग माफी मागेका छन्।

‘मलाई सीता भाउजुले माफी दिनुभयो। यो कहिल्यै बिर्सन्न। पैसा जुटाउन पहल गर्ने प्रजिअ अर्याल, उद्योगी व्यवसायी पनि धन्यवाद दिन्छु’, उनले भने।

सो अवसरमा यादवले शर्माको मत्युबारे पनि बताए। रक्सी खाएर आफूहरूबीच एक-आपसमा झगडा भएको उनको भनाइ छ।

‘रक्सी खाएर एक आपसमा झगडा भयो। मैले धकेल्दा भुइँमा लड्नुभयो। लड्दा छातीमा चोट लागेछ। भोलिपल्ट प्रहरीले पक्राउ गरेपछि मृत्यु भएको थाहा पाएको हुँ’, उनले भने।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो अवसरमा उनलाई असल नागरिक भएर काम गर्न सुझाव दिए।

‘हामीले दुुर्गाप्रसाद शर्माको परिवारलाई हारगुहार गरेपछि उहाँहरू तयार हुनुभयो। सहमति भयो। पैसा बुझाइयो। अनि आज यादव फर्केर आउन सफल भए। अब उनी यो देशको असल नागरिक बन्नुपर्छ’, उनले भने।

ब्लडमनी जुटाउन निजी क्षेत्रबाट उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रजिअ अर्याललाई साथ दिएका थिए।

भदौ १०, २०८१ मंगलबार १०:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।