विदेशी कामदारको संख्या घटाउने क्यानडेली प्रधानमन्त्रीको घोषणा

विदेशी कामदारको संख्या घटाउने क्यानडेली प्रधानमन्त्रीको घोषणा

एजेन्सी : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विदेशी कामदारको सन्दर्भमा महत्वपूर्ण घोषणा गरेका छन्।

सोमबार ट्रुडोले क्यानडामा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने बताएका हुन्।

क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय बताउँदै विदेशी कामदारलाई प्राथमिकतामा नराख्ने घोषणा गरेका हुन्।

ट्रुडोले सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी दिएका हुन्। अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ।

‘हामी क्यानाडामा आउने कम ज्याला, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं। श्रम बजार परिवर्तन भएको छ। अब हाम्रो व्यवसायहरूले क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय हो’, ट्रूडोले एक्समा पोस्ट गरे।

यसले नेपाल र भारतजस्ता देशबाट विद्यार्थीको रूपमा गएर स्थायी बसोबास गर्ने सोच बनाइरहेकाहरूलाई विशेष प्रभाव पर्ने देखिन्छ। प्रधानमन्त्रीको घोषणासँगै दूतावासहरूले क्यानडा भिसामा कडाइ समेत गर्नेछन्।

बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको क्यानडामा पछिल्लो समय आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाबमा रहेको अर्थविद्हरू बताउँछन्।

संघीय तथ्याङ्कका अनुसार गत वर्ष क्यानाडाको जनसंख्या वृद्धि हुनुको सबैभन्दा ठूलो कारण अध्यागमन थियो। देशमा सेवा र आवास निर्माण जस्ता सुविधाहरू नबढाई अध्यागमनलाई बढावा दिएकोमा ट्रुडो सरकारको आलोचना भइरहेको छ।

पछिल्लो दुई महिनामा क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ। यसको अर्थ देशभर करिब १४ लाख मानिस बेरोजगार छन्।

भदौ १०, २०८१ मंगलबार ०८:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।