मुकुललाई साधारण सदस्यबाटै निकाल्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

मुकुललाई साधारण सदस्यबाटै निकाल्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ।

पार्टी कार्यालय वनस्थलीमा विहान ८ बजे बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। आजको बैठकले पार्टीका निम्लम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाटै निकाल्दैछ।

दोस्रो पटक सोधिएको स्पष्टिकरणमा सभापति रवि लामिछानेमाथि नै खनिएपछि उनलाई आज पार्टीले साधारण सदस्यबाटै निष्कासन गर्न लागेको हो।

मुकुलले देशव्यापी अभियान सकेर काठमाडौं फर्किएपछि पार्टीभित्र सभापतिविरुद्ध आगो ओकलेका थिए। त्यसपछि पार्टीले उनलाई सात दिनको लागि निलम्बन गरेको थियो।

पार्टीको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेर बसेर आफूलाई बोल्न नदिएको दाबी गरेका उनले त्यसपछि एक टेलिभिजन अन्तर्वार्तामा पनि पार्टी सभापति लामिछाने, उपसभापति स्वर्णिमा वाग्ले लगायतविरुद्ध पनि कडै रुपमा प्रस्तुत भएका थिए।

दोस्रो पटक सोधिएको स्पष्टिकरणमा सभापतिलाई ठग, भ्रष्टाचारी र अपराधीको आरोप लगाउँदै प्रमाणित गर्ने दाबी गरेर मुकुलले। त्यसपछि भने मंगलबार बैठक बोलाएर पार्टीले उनलाई साधारण सदस्यबाट समेत निकाल्ने तय गरेको हो।

हरेक विषयमा आक्रमक र प्रतिक्रियात्मक देखिने पार्टी सभापति रवि लामिछाने मुकुलको आरोपको सन्दर्भमा अहिलेसम्म बोलेका छैनन्। प्रतिक्रियात्मक स्वभावका उनी मुकुल यो सन्दर्भमा भने एकदमै रक्षात्मक देखिएका छन्।

यसबाहेक बैठकमा समसामयिक राजनीतिक र पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, स्थानीय छायाँ सरकार कार्यविधि र विविध विषयमा छलफल हुनेछ।

भदौ १०, २०८१ मंगलबार ०७:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।