प्रतिनिधि सभाको बैठक बस्दै, स्वास्थ्य र ऊर्जासहित तीन मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं : संघीय संसद् अन्त्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
यस्तै, प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।
त्यसैगरी आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची समेत छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत आजको बैठकमा रहेको छ,।
आजैको बैठकमा सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीबम पूर्व प्रतिनिधि सभा सदस्य एवं पूर्व भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक व्यक्त गर्ने कार्यसूची छ।
उनको २०८१ साल साउन ०६ गते आइतबार सर्लाहीस्थित आफ्नै फार्म हाउसमा हत्या भएको थियो।
भदौ ११, २०८१ मंगलबार ०७:१७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।