ममता काफ्ले बेपत्ता घटना : अदालतले भन्यो- ‘नरेश समाजकै लागि खतरा’, धरौटी अस्वीकार गर्दै हिरासत निरन्तर

ममता काफ्ले बेपत्ता घटना : अदालतले भन्यो- ‘नरेश समाजकै लागि खतरा’, धरौटी अस्वीकार गर्दै हिरासत निरन्तर

काठमाडौँ : ममता काफ्ले भट्टको हत्याको आशङ्कामा हिरासतमा रहेका नरेश भट्टलाई जमानतमा रिहा गर्ने वा हिरासतमा राख्ने भन्नेबारे सोमबार दोस्रो पटक सुनुवाइ थियो। प्रहरीले नरेशले ममताको हत्या गरेर शव लुकाएको शङ्का गरे पनि हत्याको अभियोग लगाएको थिएन। त्यसैले कतै जमानतमा रिहा हुनसक्ने सम्भावना देखिएको थियो।

तर न्यायाधीशले सिधै भट्टलाई जमानतमा रिहा गर्न अस्वीकार मात्र गरेनन् उनी समाजका लागि खतरनाक हुनसक्ने समेत निष्कर्ष सुनाए। अदालतले उनी भाग्न सक्ने सम्भावना समेत रहेको भन्दै जमानतमा रिहा गर्न अस्वीकार गर्यो। सोमबारको अदालतको आदेशसँगै नरेशको प्रहरी हिरासतको अवधि लम्बिएको छ।

अझैँ प्रहरीले उनीमाथि सिधै हत्याको अभियोग भने लगाएको छैन। ममताको मृत्युको घोषणा पनि गरेको छैन। तर अदालतमा पेस गरेको कागजपत्रहरूमा सरकारीपक्षले भट्टको घरमा शव घिसारिएको र ठुलो मात्रामा रगत देखिएको प्रमाण फेला पारेको दाबी भने गरिएको छ।

कागजातमा मनासस पार्क प्रहरी अधिकारी सी. भेन्चुराले प्रहरीले ठुलो मात्रामा डिजिटल र फरेन्सिक प्रमाण फेला पारेको र नरेश भट्टले ममता काफ्ले भट्टको हत्या गरी त्यसलाई लुकाउन खोजेको लेखेका छन्।

‘घरभित्र शव रहेको र त्यसलाई घरबाट बाहिर घिसारेको प्रमाण थियो,’ प्रहरी अधिकारीले अदालतमा पेस गरेको प्रमाणमा उल्लेख छ।

शुक्रवार, प्रिन्स विलियम अदालतमा अभियोजनहरूले प्रमाणहरू पेस गरेका थिए। त्यसमा बाथटबमा ठुलो मात्रामा रगतको दाग जस्तो देखिएको बताएका थिए। कार्पेटमा रगतको दागहरू रहेको र कोठामा फेला परेका फरेन्सीक प्रमाणको आधारमा मास्टर बेडरुमबाट बाथटबसम्म शव लगेको हुनसक्ने बताएका थिए।

भट्टको घर अस्तव्यस्त अवस्थामा फेला परेको थियो। शयन कक्ष र त्यससँग जोडिएको बाथरुममा रगतको प्रमाण देखिएको थियो। ती रगतका दागहरू ममता भट्टकै हो कि होइन भन्ने पुष्टि गर्न उनीहरू अझै परीक्षणमा रहेको देखियो।

काभ्रेकी नर्स ममता भट्ट नरेशसँग विवाह गरेर चार वर्ष अगाडि अमेरिका गएकी थिइन्। उनी तीन हप्ता अघि एकाएक बेपत्ता भएकी थिइन्। उनलाई अन्तिम पटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनले जुलाई २८ मा एक साथीसँग फोनमा कुरा गरेकी थिइन्। जुलाई २८ मा आफ्नो बच्चा भर्याङ चढ्दै गरेको भिडियो टिकटकमा पोस्ट गरेकी थिइन् ममताले। त्यसपछि उनलाई कसैले देखेको छैन।

ममता काममा नआएपछि उनीसँगै अस्पतालमा काम गर्ने सहकर्मीले प्रहरीलाई जानकारी गराएकी थिइन्। नरेशले भने अगस्त पाँचमा मात्र औपचारिक रूपमा श्रीमती ममता हराएको रिपोर्ट गरेका थिए।

ममता भट्ट हराएको रिपोर्ट गरिएपछि उनका साथीहरूले उनको खोजी गर्न खोजी अभियान सुरु गरे। उता ममताको खोजी गरिरहेको मनासस पार्क प्रहरीले अगस्त २१ मा नरेशलाई ममता हराउनुको पछाडिको शङ्कास्पद व्यक्तिको सूचीमा राखेर पक्राउ गरे।

ममताबारे प्रहरीलाई दिएको जानकारी लगायतका विवरण पटक पटक अलग अलग दिएपछि प्रहरीले उनीमाथि नै शङ्का गरेको थियो। त्यसमा थप अदालतको अनुमति लिएर उनको घरमा अनुसन्धान गर्न गएको फरेन्सिक टिमले त रगतहरूबारे शङ्कास्पद प्रमाणहरू फेला परेपछि एक वर्षीय सन्तानको संरक्षणको जिम्मा सरकारले नै लिएर नरेश पक्राउ परे।

जुलाई ३० मा नरेश भट्टले तीनवटा चक्कु किनेका तर एउटा मात्र घरमा फेला परेको, ममता हराएको भनिएको दोस्रो दिन नै नरेशले घर सफा गर्ने सामानहरू किनेकाले समेत हत्या गरेपछि जोगिन प्रमाण नष्ट गर्ने प्रयास गरेको प्रहरीको शङ्का छ।

नरेशले आफ्नो टेस्ला बेचिसकेका थिए भने घर बेच्ने प्रयासमा थिए। अनि उनी छोरी लिएर भाग्ने तयारीमा रहेको प्रहरीको निष्कर्ष छ। त्यसलाई सोमबार अदालतले समेत स्वीकार गरेर उनलाई धरौटी लिएर छाड्दा भाग्ने जोखिम रहेको बतायो।

शुक्रवारको सुनुवाइमा नरेशका वकिलले यस मुद्दालाई 'मिडिया उन्माद' भन्दै भट्टलाई रिहा गर्न माग गरेका थिए। तर न्यायाधीशले सोमबार बिहानको सुनुवाइमा उनलाई धरौटीमा नछाडि थुनामा राख्ने आदेश दिए।

यस्तो छ घटनाक्रम

-जुलाई २७: ममतालाई अन्तिम पटक यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको।
-जुलाई २८: ममताले एक साथीसँग अन्तिम पटक कुरा गरेकी र टिकटकमा अन्तिम भिडियो पोस्ट गरेको।
-जुलाई ३०: आरोप अनुसार, नरेशले यसै दिन आफ्नी पत्नीको हत्या गरेको। उनी वालमार्टमा तीनवटा चक्कु किन्दै गरेको देखिएको। 
-जुलाई ३१: नरेशको दाबी अनुसार उनले आफ्नी पत्नीलाई अन्तिम पटक देखेको दिन।
-अगस्त २: प्रहरी नरेशको घरमा सोधपुछ गर्न गएको दिन।
-अगस्त ५ : नरेशले ममता हराएको रिपोर्ट गरेको दिन।
- अगस्त २१: प्रहरीले घरमा खानतलासी गर्यो।
- अगस्त २२: नरेशलाई गिरफ्तार गरियो।
- अगस्त २३: नरेशको अभियोजन, जमानतविना हिरासतमा राख्ने आदेश।
- अगस्त २६: सुनुवाइमा नरेशलाई धरौटीमा नछाडफ हिरासतमा राख्ने आदेश कायम।

अनुसन्धानका प्रमुख बुँदाहरू

१. घरमा भएको खानतलासीमा शयन कक्ष र बाथरुममा ठुलो मात्रामा रगत फेला परेको।
२. शव घरभित्र रहेको र त्यसलाई घिसारेर बाहिर लगेको सङ्केत फेला परेको।
३. नरेश भट्टले जुलाई ३० मा तीनवटा चक्कु र अर्को दिन सफाइ सामग्रीहरू किनेको देखिएको।
४. नरेश भट्टले ममता हराएकोबारे असङ्गत बयानहरू दिएको।
५. नरेश भट्टले आफ्नो टेस्ला बेचेको र घर बेच्ने प्रयास गरेको।

 ​​​​​​कानुनी प्रक्रिया

नरेश भट्टलाई हाल शव लुकाउने आरोपमा मात्र अभियोग लगाइएको छ। उनका वकिलले भट्टको हिंसात्मक इतिहास नभएको र अपर्याप्त प्रमाणको आधारमा उनलाई दोषी ठहर्याउन नसकिने तर्क गरेका छन्। तर, न्यायाधीशले भट्टलाई फरार हुने जोखिम र समुदायका लागि खतरा मान्दै धरौटी नलिई हिरासतमा राख्ने आदेश दिए। 

सम्बन्धित समाचार

भदौ ९, २०८१ सोमबार २३:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।