घरमा खेलिरहेका दाजु-बहिनी कतिखेर पोखरीमा पुगे थाहै पाएनन्, खोज्दा डुबिसकेका थिए

घरमा खेलिरहेका दाजु-बहिनी कतिखेर पोखरीमा पुगे थाहै पाएनन्, खोज्दा डुबिसकेका थिए
सांकेतिक तस्बिर

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाई पोखरीमा डुबेर मृत्यु भएको छ। च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ मृत्यु भएको हो।    
    
दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाई पोखरीमा डुबिरहेको आस्थामा फेला परेका थिए।

बेलुका पौने छ बजे फेला पारिएका दुवै जनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए।

घटना भएको जानकारी पाए लगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबर बहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएका छन्। घटनास्थलमा खटिएका प्रहरी टोलीलाई घटनास्थल सुरक्षित राख्न लगाएर थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो। सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए।

अहिले वर्षाद्को समयमा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैनथे। सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको एमालेका स्थानीय नेता रसकुमार राईले बताए।

मृतक सङ्गम स्थानीय कलङ्का आधारभूत विद्यालयको कक्षा–२ मा अध्ययनरत थिए। बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन्। गइद्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।    

भदौ ९, २०८१ सोमबार २२:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।