१० पैसा भाडा नहुँदा चढ्न नपाएको त्यो हिमालयन बस झल्झली सम्झन्छन् सानुगाउँका धनगोविन्द

१० पैसा भाडा नहुँदा चढ्न नपाएको त्यो हिमालयन बस झल्झली सम्झन्छन् सानुगाउँका धनगोविन्द

बादलले आकाश धुम्म थियो। कुन बेला पानी बर्सिने पत्तो थिएन। ललितपुर सानुगाउँ ६ मा धनगोविन्द महर्जनको काठ चिरानमा पुग्दा मौसमको वास्तै नगरी उनी धुमधुमती सिसाकलमले काठमा देवताको आकृति बनाउन मग्न थिए।

गोदाम त्यति व्यवस्थित थिएन। असरल्ल काठ  अनि काठका धुलोमै बसेका थिए उनी। यही काठ र काठको धुलो मिहेनतको कमाई लाग्ने रहेछ उनलाई।

काठमाडौँ उपत्यकाका नेवार बस्तीमा बढी प्रचलित काठमा कुँदिने देवी देवता कोर्ने उनको मूल पेसा हो। उनले काठमा देवी देवता कुद्न थालेको ४८ वर्ष भयो।

२००८ सालमा जन्मिएको उनी अहिले ७२ वर्षका भए। उमेरमा फरक फरक काम गरेका उनी अहिले भने आफ्नै गोदाममा काठमा देवता ल्याउँछन्।

‘पाटनमा काम सिकेको हो, त्यो बेला पैसा दिन्थे ५ रुपैयाँ, २०३२ सालतिर सिकेको यही काम अहिले बुढेसकालमा काम लागिरहेको छ’ उनले भने।

उनले अहिले जहाँ काठ गोदाम बनाएका छन् त्यहाँ २०७२ अगाडिसम्म घर थियो। २०७२ को भूकम्पले घर ढल्यो, अनि उनले गोदाम बनाए।

उमेरले ७२ लागे पनि उनका सिसाकलम समातेपछि भगवानको आकृति काठको ट्वाक्कै कोर्छन्। शारीरिक रूपमा उनी अझै तन्दुरुस्त छन्। आँखाले साथ दिएकै छ।

‘उमेरले ७२ लागे, अहिलेसम्म कुनै रोग लागेको छैन। काम गरिरहन्छु। आफूले सकुन्जेल गर्ने हो। नसकेपछि छोराहरूले हेरिहाल्लान्’ उनले भने।

२ छोरा १ छोरी रहेका धनगोविन्दलाई छोराहरूले काम गर्नुपर्दैन नभनेका हैनन्। तर उनकै मन मानेन। शरीरले साथ दिएसम्म किन निष्क्रिय बस्ने भनेर उनले जानेको काम गरिरहे। गरिरहेका छन्।

‘छोराहरूले बस बा भन्छन्, मन लाग्दैन। अब २ वर्ष चाहिँ काम गर्नुपर्छ भनेर बसेको छु। हेरौँ के हुन्छ’ उनले भने।

ज्यामीदेखि स्थायी जागिरेसम्म

४ जना दाजुभाइमा धनगोविन्द साइँलो। घरको गरिबीको कारणले १५ वर्षको उमेरदेखि नै ज्यामी काम सुरु गरे। त्यतीबेला ६ जनाको परिवार पाल्न गाह्रो भएपछि उनका दाजुभाइ पनि कामको खोजीमा लागे। धनगोविन्दले ज्यामी काम पाए। सुरुमा ज्याला थियो ३ मोहर।

‘सिंहदरबारको संसद् भवन बनाउने, पेटी बनाउँथे काम पनि गरेँ। त्यो बेलामा ३ मोहर दिन्थे। हाम्रो गाउँका चाहिँ ज्यामी, ज्यामी कीर्तिपुरका नाइके र पाटनका ठेकेदारहरू थिए।’

त्यतिबेला बस नभएको होइन, पाटन ढोकाबाट बस लाग्ने रहेछ, नाम चाहिँ हिमालयन बस। त्यतिबेला जम्मा १० पैसा लाग्ने रहेछ काठमाडौँमा बस चढेको। तर घरको आर्थिक अवस्थाले गर्दा धनगोविन्दले ज्यालादारी गर्दा कहिल्यै बस चढेनन्, कलैकाही रहरलाग्दा चढे होलान् नत्र हिँडेरै सिंहदरबारसम्म जान्थे।

‘त्यो बेला अहिलेको जस्तो बस नै थिएन। हिमालयन बस मात्रै थियो त्यो बेला, पाटनढोकामा। अरू ठाउँमा बस नै थिएन। यहाँसम्म बस आउने बाटो नै थिएन। हिँड्दै पाटनढोकामा गएपछि बसमा बस्ने, त्यो बेलामा १० पैसा लाग्थ्यो। हामी त हिँड्दै जान्थ्यो।’

धनगोविन्दले आफूले युवा अवस्थामा भोगेका दुख र अहिलेको परिवर्तन देख्दा अचम्म लाग्ने रहेछ। अहिले उनकै गोदामको अगाडी गाडी रोकिन्छ तर उनी युवा अवस्था हुँदा त्यो ठाउँ बारीको फाँट र हिलैहिलो रहेछ।

उनले सानै उमेरमा काम सुरु गरे पनि रहर अनुसार लगाउन भने पाएनन्। खानलाई त घरकै खाना हुन्थ्यो। युवाकालमा जे-जे लगाउन रहर हुन्थ्यो त्यो पुरा भएन।

‘त्यो बेला जुत्ता किन्न पनि गाह्रो थियो। त्यो बेला सुरुवाल लाउने होइन, कट्टु लाउने हो। सुरुवाल किन्न महँगो थियो। पैसा थिएन’ उनले भने।

ज्यामी कामबाट उनले पावर हाउसमा काम पाए। समय त याद रहेनछ धनगोविन्दलाई तर काठमाडौँ भर्खर भर्खर विद्ध्युत विकासको चरणमा रहेछ। उनले पावरहाउसमा काम गर्न कीर्तिपुरको ठेकेदारले लगेको रहेछन्। उनीसँगै पावरहाउसमा ४ जना अरू साथीलाई पनि ज्यामीको रूपमा लगे।

‘मैले पावरहाउसमा पनि काम गरेको थिए। त्यहाँ चाही कीर्तिपुरको ठेकेदारले लगेका थिए। गाउँको ४ जना थियौँ, काम गाउँको बत्ती बाल्ने। ३ वर्ष त्यहीँ काम गरेँ,’ उनले भने काम चाइनाले गरेको थियो। हरिसिद्धी, पावरहाउस, भक्तपुर जानेबाटो सबै चाइनाले बनाइदिएको। पहिला धेरै दुख थियो। देश नै दुखमा थियो। पैसा कमाउनै गाह्रो।’

पावरहाउसमा ३ वर्ष बिताएपछि धन गोविन्दको जागिर लाग्यो हरिसिद्धी इट्टा कारखानामा। काम ज्यामीकै थियो। घरपरिवार पाल्न उनले हरिसिद्धि इट्टा कारखानामा २० वर्ष ज्यामी काम गरे।

इट्टा कारखानामा काम गर्दागर्दै स्थायी भए। धन गोविन्दको त्यति बेलाको कमाई थियो जम्मा ३ रुपैयाँ। ९ वर्ष एकै ठाउँमा काम गरेपछि उनी भक्तपुरमा रहेको इट्टा कारखाना गए। त्यहाँ जाँदा उनको तलब बढेर ५ रुपैयाँ पुग्यो। भक्तपुरमा धनगोविन्दले ११ वर्ष ज्यामी नै काम गरे। उनको हरिसिद्धिमा स्थायी जागिर थियो, भक्तपुर पुगेपछि पनि स्थायी नै भए। 

‘हरिसिद्धिमा मिसिनमा इट्टा बनाउने, बोक्ने, ९ वर्ष गरेपछि भक्तपुर इट्टा कारखानामा सरुवा भयो। हरिसिद्धिमा  स्थायी भएको थिएँ, भक्तपुरमा पनि स्थायी जागिर भयो,’ उनले भने, ‘भक्तपुरमा काम गर्दा १२ रुपैयाँ थियो। काम चैँ गाडा चलाउने, सिमेन्ट घोल्ने, सिमेन्ट बोक्ने थियो। भक्तपुर जानलाई गाह्रो भयो अनि काम छाडिदिएँ।'

.....अनि काठमा देवता कुदाउन थाले

२०३२ सालमा उनले भक्तपुरमा काम सिक्न पाएँ काठमा भगवान् कुद्ने।  तलब महिनाको १२ रुपैयाँ पुगिसकेको थियो भट्टामा। तर यता काम सिक्दा ५ रुपैयाँ मात्र आउँथ्यो। पछि उनको तलब बढ्दै गयो। पाटनमै काम गर्दा महिनाको करिब ५० रुपैयाँसम्म भयो। तर साहूले पसल बेचिदिए। त्यसपछि उनले पाटनका सिकेको सिप आफ्नै घरमा सुरु गरे। अहिलेसम्म काम निरन्तर छ।

कोभिडकाल अघिसम्म ललितपुरमा धमाधम घरहरू बन्दा उनको व्यापार पनि राम्रो थियो। झ्याल-ढोका बनाउन भ्याई नभ्याई हुन्थ्यो। तर अहिले घर कम बनेकोले काम पनि कम आउन थाल्यो।

‘काम भएको दिन राम्रै छ, दिनमै ४ हजार बढी हुन्छ। काम नभएको दिन १ हजार पनि हुँदैन। पहिला झ्याल-ढोका बनाउनै भ्याइँदैनथ्यो। अहिले त कामै आउँदैन’ उनले भने।

जति काम आए पनि उनी खुसी छन्। खुसी हुने पहिलो कारण घरमा कुँजिएर बस्नु परेको छैन। दुखको बेलामा सिकेको सिप अनुसार काम गर्न पाइरहेका छन्। काम गर्नुपर्ने बाध्यतामा छैनन्। जाँगर नचल्दा नगर्दा पनि भयो। सबैभन्दा खुसी चैँ अहिलेसम्म पनि खर्चका लागि कसैको आस गर्नु परेको छैन।

‘अहिलेसम्म म खुसी छु। जानेको सिप अनुसार काम गर्न पाएको छु,’ खुसीहुँदै उनले भने’ दुई वर्षपछि त यहाँ कान्छो छोराले घर बनाउँछ होला। अनि म पनि काम छाड्छु।'

भदौ १०, २०८१ सोमबार २२:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।