विद्धुतिय गाडीमा कालोबजारी गर्दै शारडा समूह, ३२ लाखमा आउने गाडीको मूल्य ६१ लाख

विद्धुतिय गाडीमा कालोबजारी गर्दै शारडा समूह, ३२ लाखमा आउने गाडीको मूल्य ६१ लाख

काठमाडौँ : ललितानिवासको सरकारी जग्गा हिनामिनामा जोडिएर बदनाम शारडा समूहका सदस्य विद्धुतिय गाडीको कारोबारमा समेत कालोबजारीमा संलग्न देखिएका छन्। उनीहरुले चीनमा निर्मित विद्धुतिय गाडी नेपालमा ल्याएर बेच्दा अत्याधिक नाफा गरेर कालोबजारी गर्ने गरेका हुन्। उनीहरुको बदमासीमा राजश्व अनुसन्धान विभाग लगायतका सरकारी निकाय मौन देखिन्छन्।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कुनै पनि वस्तु तथा सामानको विक्रीमा २० प्रतिशतभन्दा बढी नाफा लिनु कालोबजारी हो। तर सो समूहले चीनमा निर्मित विद्धुतिय गाडी नेपाल ल्याएर उच्च नाफा लिने गरेको देखियो। 

यो समूहले नेपालमा अमोडा इ ५ को विक्री गर्ने गरेको छ जसको मूल्य तोकेको छ ६१ लाख। जबकि राजश्व लगायतका ढुवानी र प्रशासनिक खर्चसँगै उसले लिन पाउने वैध २० प्रतिशत नाफा समेत जोड्दा यो गाडीको अधिकतम मूल्य ३२ लाख पर्ने देखिन्छ। तर उसले आफ्नो आधिकारिक साइटमै गाडीको मूल्य ६१ लाख राखेको छ।

अमोडा इ ५ को चीनमा गाडीको अर्डरको सङ्ख्या अनुसार मूल्य तोकिएको छ। एक पटकमा एक देखि १५ वटा गाडीसम्म अर्डर गरेमा प्रतिगाडीको मूल्य १५ हजार अमेरिकी डलर ( करिब २० लाख रुपैयाँ) पर्ने देखियो। नेपाल भित्र्याउँदाको १० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत भ्याटसहित उसको अन्य ढुवानी र प्रशासनिक खर्च जोड्दा पनि गाडीको मूल्य ६१ लाख पुग्दैन।

यसमा ५ प्रतिशत लागत, ढुवानी खर्च १० प्रतिशत, शो रुम सञ्चालन र जनशक्तिमा भएको खर्च ५ प्रतिशतसँगै कानुन अनुसार अधिकतम नाफा लिन मिल्ने २० प्रतिशत जोड्ने हो भने कुल ६३ प्रतिशत लागतमा जोडिने देखियो। यो गर्दा खरिदमुल्यमा थप १२ लाख रुपैँया थपिन्छ। 

यी सबै जोड्दा अधिकतम मूल्य ३२ लाख हाराहारी हुने देखिन्छ। तर कम्पनीले ६१ लाख लिएर उपभोक्तासँग सिधै ३० लाख बढि रकम ठगी गरिरहेको देखिन्छ। भारतमा यही मोडलको कार २९ लाख ८८ हजार (४७ लाख ४९ हजार) मा पाइन्छ। यही कम्पनीले निसानको विद्युतीय गाडी लिफ समेत विक्री गर्ने गरेको छ।अर्को ब्रान्ड जेको सिक्स समेत नेपालमा भित्र्याउने तयारीमा छ शारडाका सहायक कम्पनीहरु।

ललिता निवास जग्गा घोटालामा जोडिएर बदनाम

शारडा समूहका सदस्यहरू बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिनामा जोडिएको परिवार हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो दुवैको अनुसन्धानको दायरामा परेका थिए शिवरतन शारडा। उनीसहित उनका दुई छोराहरू समेत त्यो बेलामा फरार भएका थिए।

अनुसन्धानमा शिवरतन शारडा, कैलाशचन्द्र गोयल, निर्मला गोयल, श्रवणकुमार गोयल र सन्दीपकुमार शारडा सञ्चालक रहेको डीएफएल डेभलपर्सको नाममा ललित निवासको १८ रोपनी जग्गा रहेको खुलेको थियो।

प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेपछि उनी दुई छोरासहित फरार भएका थिए। पक्राउ पुर्जी जारी भएपछि सन्दीप शारडा र गौरव शारडा समेत फरार भएका थिए।

भदौ ९, २०८१ सोमबार १९:५३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।