टुँडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध निरन्तर नाराबाजी भएपछि उनले भने ‘नेपाली समाज भड्काउन सम्भव छैन’

टुँडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध निरन्तर नाराबाजी भएपछि उनले भने ‘नेपाली समाज भड्काउन सम्भव छैन’

काठमाडौँ : गौरापर्वको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक समूहले निरन्तर नाराबाजी गरे। उनी मञ्चमा पुगेदेखि नै कार्यक्रममा सहभागी एक समूहले उनी विरुद्ध नाराबाजी गरेका थिए।

सम्बोधनका लागि उनको नाम लिएपछि नाराबाजीको स्वर थप बढ्यो। नाराबाजी गर्नेहरू अधिकांश युवा उमेरका थिए। उनीहरूले प्रधानमन्त्रीको नामै लिएर ‘केपीको पाराले, दुख पाए साराले’ भन्दै नारा लगाइरहे।

नाराकैबीचमा सम्बोधन गरेका ओलीले कार्यक्रममा नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले बिथोल्ने र भड्काउने प्रयास सफल नहुने दाबी गरे।

उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए। तर नाराबाजी घट्नुको साटो थप बढ्यो। सहभागीहरू प्रधानमन्त्री ओलीसँग आक्रोशित देखिन्थे।

उनले यस्ता सांस्कृतिक चाडहरूले नेपालको पहिचान दिने भन्दै गौरापर्वबारे बोले। तर प्रहरीको सिठीको आवाज पनि बढ्यो अनि सहभागीको नाराबाजीको स्वर पनि चर्कियो।

ओलीले आफ्नो सम्बोधन जारी राखे भने उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू मञ्चमा निकै सतर्क देखिन्थे।

उनले कहिलेकाहीँ नयाँ पुस्ताले संस्कृति बिर्सिएको देख्दा अचम्म लाग्ने गरेको बताए। उनले अर्काको कार्यक्रम भाँड्ने गतिविधिहरू पछिल्लो समय बढेको भन्दै यस्तो व्यवहार नेपालीपन नभएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी थिए। उनी बोल्नेक्रममा पनि नाराबाजी भएको थियो। उनले लाज नभएकाहरू भन्दै हल्ला गर्नेहरूलाई गाली गरेका थिए। 

भदौ ९, २०८१ सोमबार १८:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।