आठ घण्टापछि बल्ल खुल्यो तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड

आठ घण्टापछि बल्ल खुल्यो तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड खुलेको छ। दुर्घटनामा परेको भारतीय बस निकाल्न बिहानैबाट राजमार्गमा सवारी आवागमन रोकिएको थियो। आठ घण्टाको अवरोधपछि राजमार्ग सञ्चालनमा आएको हो।

गत शुक्रवार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न राजमार्ग बन्द गरिएको थियो। जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनाग्रस्त बस निकाल्न सडक बन्द गरेको थियो।

क्रेनको हुक भाँचिएपछि सडक ढिला सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। क्रेनको बुम जडान गरिएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको थियो। 
तनहुँको आबुखैरेनी–२ ऐना पहरामा शुक्रवार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीबाट निकाल्न ठुला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधन पूर्णरुपमा बन्द गरिएको थियो।

ऐना पहरामा भारतीय पर्यटक चढेको बस मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए।    

भदौ ९, २०८१ सोमबार १८:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।