काठमाडौँमा बागमती नदीको जल सतहले खतराको विन्दु पार गर्‍यो, सचेत रहन आग्रह

काठमाडौँमा बागमती नदीको जल सतहले खतराको विन्दु पार गर्‍यो, सचेत रहन आग्रह

काठमाडौँ : काठमाडौँमा बागमती नदीले सतर्कता तह पार गरेको छ। अहिले दिउँसो गौरीघाट जल मापन केन्द्रमा भएको मापनमा जल सतहले सतर्कता तह पार गरेको र पानीको मात्रा बढ्दो क्रममा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। सोमबार काठमाडौँ उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ।

यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसपासका खोलामा बहाव बढ्न सक्ने चेतावनी दिएको छ।

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ। मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भिरालो क्षेत्रमा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भदौ ९, २०८१ सोमबार १८:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।