बढ्दैछ ‘गीति कथा’को प्रभाव

बढ्दैछ ‘गीति कथा’को प्रभाव

काठमाडौं : कुनै समय गीतसंगीत सुन्न रेडियो नेपाल एक मात्र माध्यम थियो। त्यसबाहेक अन्त गीतसंगीत सुन्न पाइँदैनथ्यो। त्यसपछि अडियो क्यासेट हुँदै सीडी, पेनड्राइभ र युट्युबसम्म आयो। प्रविधिले फड्को मारिरहँदा गीत संगीतको स्वरूप र दर्शकको स्वाद पनि फेरिँदै गयो।

रेडियोमा गीत सुन्नुपर्ने र अडियो क्यासेटसम्मको समयमा स्रोतले आफ्नो हिसाबले गीतको अर्थ लगाउँथे। स्रोतको स्वभाव र उसको अवस्थाको आधारमा गीतको बारेमा उनीहरुले कल्पना गर्थे।

तर, जब भिडियोसहितका गीतसंगीतको युग सुरु भयो, तब भिडियोमा सर्जक आफैँ हावी हुने थाले। उनीहरूले दर्शकलाई आफूले भन्न खोजेको कुरा ‘यो हो है’ भनेर देखाउ थाले।

त्यसमा उनीहरू उनीहरू गीतको लम्बाइ अनुसारको भिडियो बनाएर सार्वजनिक गर्थे। कतिपयले त लामो गीत भएको अवस्थामा पहिलो चार मिनेटको मात्र भिडियो बनाएर सार्वजनिक गरिन्थ्यो।

नेपाली गीतसंगीतमा नयाँ प्रयोग भएकाले दर्शकले त्यसलाई पनि रुचाए। यद्यपि चार वा पाँच मिनेटको भिडियोमा आफ्नो भाव व्यक्त हुन भने सक्दैनथ्यो भने समयसँगै प्रविधि र दर्शकको चाहनामा पनि परिवर्तन आइरहेको थियो।

फलतः चार जनाले चोभारको डाँडामा कम्मर हल्लाउने नेपाली म्युजिक भिडियोको परम्परागत ट्रेन्डलाई दर्शकले रुचाउन छाडे। यसले सर्जकलाई दबाब बढायो। त्यही दबाबको विकल्प हुन् गीति कथा।

पछिल्ला केही वर्षको नेपाली दर्शक स्रोतको संगीतप्रतिको ट्रेन्ड हेर्ने हो भने गीति कथाप्रतिको रुचि बढ्दो र लोभलाग्दो छ। शब्द र संगीतको भावमा केही संवाद मिसाएर बुनिन्छ गीति कथा।

यसले दर्शकलाई केही गीतसंगीतसँग अझै नजिक्याउँदै त छ नै, कतिपय गीति कथामा दर्शकले आफूसमेत पाएका छन्। सर्जकले गीतको भाव अनुसारकै संवाद भिडियोमा प्रयोग गर्दा गीतमा दर्शकले अझ बढी अपनत्व महसुस गर्न पाउँछन्। शब्दसँगै फिल्मी शैलीमा बनाइने भिडियोले गीति कथाको बजार पनि बढ्दो छ।

पाँच मिनेटको गीतमा १० मिनेटको कथा जोडेर गीति कथा बन्ने क्रम बढ्दो छ। केही वर्षयता आएका ‘बोल माया’, ‘रेलको बाटो’, ‘सकम्बरी’, ‘पीर’, ‘प्याकुली’ लगायतका गीतले नेपालमा गीति कथाको बढ्दो अवस्था र प्रभावलाई दर्साउँछ।

०००

एक साताअघि मात्र वैदेशिक रोजगारीमा गएका युवाको कथा बोकेको गीति कथा ‘प्याकुली’ सार्वजनिक भयो। गीतले गाउँका युवा परदेशिएपछिको अवस्थालाई समेट्यो।

गीतको भिडियोमा रचनाकार आरआर (रामहरि) खड्का आफैँ मुख्य भूमिका देखिएका छन्। बाबुल गिरीको संगीत र स्वर रहको गीतको विमोचन कार्यक्रममा उनले भिडियो र गीतले समाजको वास्तविक कथा बोलेको बताए।

‘गीतले घर-घरको कथा भनेको छ,’ उनले भने, ‘श्रीमान् विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बोल्नै अफ्ठेरो छ। मैलै गाउँमै भोगेको कथा हो। समाजप्रति दायित्व बोध गरेर निर्माण गरेको हुँ।’

हिमाल सागरले दश वर्षअघि गाएको गीत ‘न मैले लेखे न उनले लेखिन्’ बोलको गीत हालै नयाँ भर्सनमा सार्वजनिक भयो। उक्त गीतको भिडियो पनि फिल्मी शैलीमा निर्माण गरिएको छ। भिडियोमा निर्देशक निकेश खड्काले मायामा रहँदा–रहँदै पनि कुलतमा फसेको कथालाई संवादमार्फत सुन्दर तरिकाले बुनेका छन्।

हिमाल आफैँले अभिनय गरेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको पनि साथ छ। दश वर्षअघि भिडियोमार्फत भन्न नसकेको विषय अहिले उजागर गर्न पाउँदा खुसी लागेको गायक तथा मोडल हिमालको भनाइ छ।

यस कुमारले पनि पुराना गीतमार्फत नयाँ कथा भने। गत वर्ष पुसमा आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘तिमी छौ र त’ बोलको गीतमा उनले केही कथा मिसाए। म्युजिकल फिल्मको नाम दिइएको उक्त भिडियोमा अन्तरजातीय प्रेमको विषयमा खुट्याए।

विज्ञान राईको निर्देशन बनेको गीतको भिडियोमा यश कुमारका साथमा अनु थापा, राजेश घतानी र प्रेम शुब्बाको अभिनय छ। सिडियो १८ मिनेटको छ।

हालै उनले अर्को गिती कथा ‘सुस्तरी सुस्तरी’ सार्वजनिक गरेका छन्, जसमा फुटपाथका व्यापारी र स्थानीय तहबीचको लडाइँ अनि प्रेमलाई देखाइएको छ। भिडियोमा यश कुमार र अनु थापाले अभिनय गरेका छन्।

निकेश खड्काले निर्देशन रहेको गीति कथामा स्वयं यशकुमारकै संगीत छ। स्वरमा भने उनलाई अनु चौधरीले साथ दिएकी छन्।

नेपाली संगीतका लागि सकरात्मक नै हो : संगीतकार सिंह
गीतमार्फत भन्न र बुझाउन नसकेका विषय दर्शकलाई भिडियोमार्फत बुझाउन पाउने भएकाले संगीतकार राजु सिंह यसलाई सकारात्मक रूपमा लिन्छन्।

उनी भन्छन्, ‘कुनै पनि गीतको अर्थ मान्छेहरूले आ-आफ्नै तरिकाले लगाइरहेका हुन्छन्। तर, सर्जकले कुन विषयलाई मन्थन गरेर गीत लेखेको हो भन्नेबारेमा भिडियोमा आउँदा त्यसले त राम्रै गर्छ नि!’

अडियो सुनेर मनोरञ्जन लिने अवस्थाबाट भिडियो हुँदै गीति कथासम्म आइपुग्दा यसले नेपाली गीतसंगीतलाई नै फाइदा पुगेको उनको भनाइ छ। गीतले भन्न नसकेका विषयलाई कथामार्र्फत भन्नका लागि भ्वाइस ओभर गरिने संगीतकार सिंहले बताए।

उनले थपे, ‘कतिपय शब्दले भन्न नसकेका विषयहरू म्युजिकमार्फत भन्न सकिन्छ अनि म्युजिकले पनि भन्न नसकेको विषय भ्वाइस ओभरमार्फत स्टोरी टेलिङ गर्न थालिएको हो।’

गीतमा भ्वाइस ओभर गर्न गायक तथा नायक प्रकाश सपुतको ‘गलबन्दी’बाट सुरु गरेको दाबी समेत संगीतकार सिंहले गर्न भ्याए।

‘प्रकाश सपुतजीको गलबन्दी बोलको गीत आएपछि स्टोरी टेलिङको धेरै ट्रेन्ड चलेको हो। त्यस्तै एकनारायण भडारी, यश कुमार र हिमाल सागरको गीतमा पनि यो विषय समेटिएको छ’, उनले थपे।

भदौ ९, २०८१ सोमबार १५:१३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।