अहिलेको सरकारले भात-रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

अहिलेको सरकारले भात-रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले घुस नखाने बताएका छन्।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले घुस नखाने बताएका हुन्।

उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने भन्दै शक्तिको दुरुपयोग नगर्ने दाबी गरे।

‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन। अहिलेको सरकारले कसैलाई फसाऔं भनेर आदेश दिँदैन। निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन। ​​​​​​ढुक्कले काम गर्नहोस्,’ उनले भने, ‘अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं। औचित्यको आधारमा सरुवा गरिने छ। अहिलेको सरकारले भात-रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन।’

उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने बताए।

उनले भने, ‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन। पुरानो घुमुवाको तरिकाबाट होइन, यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ।’

भदौ ९, २०८१ सोमबार १२:२६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।