२३ वर्षपछि बंगलादेशले पाकिस्तानलाई हरायो

२३ वर्षपछि बंगलादेशले पाकिस्तानलाई हरायो

एजेन्सी : बंगलादेशले पाकिस्तानलाई टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक पराजित गरेको छ।

बंगलादेशले पाकिस्तानको घरेलु मैदान रावलपिन्डीमा भएको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा १० विकेटको जित निकाल्यो।

पाकिस्तानलाई उसकै मैदानमा १० विकेटले हराउने बंगलादेश पहिलो टोलीसमेत बन्यो। अब यी दुईबीचको दोस्रो टेस्ट ३० अगस्टमा रावलपिन्डीमै हुनेछ।

यसअघि १४ पटक एकअर्काविरुद्ध भिडेका बंगलादेश र पाकिस्तानबीच भएका १२ स्पर्धामा पाकिस्तान विजयी भएको थियो भने १ खेल बराबरी र अर्को १ खेल रद्द भएको थियो।

यी दुई टिमबीच पहिलो टेस्ट २००१ मा भएको थियो। त्यसयता बंगलादेशले पहिलो पटक पाकिस्तानलाई हराएर इतिहास रचेको हो।

पहिलो इनिङमा साउद सखिलको १ सय ४१ र मोहम्मद रिजवानको १ सय ७१ रनको सानदार इनिङमा ४ सय ४८ रनको उच्च स्कोरमा पारी घोषणा गरेको पाकिस्तान विरुद्ध बंगलादेश पनि लोभलाग्दो प्रदर्शन गर्दै ५ सय ६५ रन बनाएको थियो।

बंगलादेशका लागि मुस्फिकर रहिमले १ सय ९१ रनको सानदार इनिङ खेल्दा सदमान इस्लामले ९१ रन र मेहिदी हसन मिराजले ७७ रन बनाएका थिए। त्यस्तै, लिटन दास र मोनिमुल हकले पनि अर्धशतक बनाए।

पहिलो इनिङमा १ सय १७ रनले पछि परेको पाकिस्तान दोस्रो इनिङमा भने धरासायी बन्यो। दोस्रो इनिङमा १ सय ४६ रन जोड्द अलआउट भएको थियो। उसका लागि मोहम्मद रिजवानले ५१ रन बनाउनु सर्वाधिक रह्यो।

सस्तैमा समेट्ने क्रममा बंगलादेशका मेहिदी हसन मिराजले ४ विकेट लिएका थिए भने सकिब अल हसनले ३ विकेट लिएका थिए।

केवल ३० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानले विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सनसनीपूर्ण रूपमा जित हासिल गर्याे। उसका लागि जाकिर हसन १५ र सदमान इस्लाम ९ रनमा अविजित फर्किए।

योसँगै विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा बंगलादेशले पाकिस्तानलाई पछि पारेको छ। बंगलादेशले ५ टेस्टमा २ जित र ३ हारसहित २४ अंक बनाएको छ। उसँग ४० प्रतिशत अंक छ। बंगलादेश वेस्ट इन्डिज, पाकिस्तान र दक्षिण अफ्रिका भन्दा अघि रह्यो।

भारत ६८.५२ प्रतिशतका साथ शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया ६२.५० प्रतिशत जितका साथ दोस्रो स्थानमा छ। 

न्युजिल्यान्ड तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौंथो र श्रीलंका पाँचौं स्थानमा छ। बंगलादेश छैटौं स्थानमा रहँदा दक्षिण अफ्रिका सातौं, पाकिस्तान आठौं र वेस्ट इन्डिज अन्तिम अर्थात नवौं स्थानमा छ।

भदौ ९, २०८१ सोमबार ११:५९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।