पहिरो पीडितलाई बागलुङ सेवा समाजको आर्थिक सहयोग

पहिरो पीडितलाई बागलुङ सेवा समाजको आर्थिक सहयोग

काठमाडौं : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० का पहिरो पीडितलाई बागलुङ सेवा समाज दोहा कतारले आर्थिक सहयोग गरेको छ।

आइतबार समाजले पहिरो पीडित र मृतकको आफ्न्तलाई १ लाख १ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको हो।

समाजले बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटा र वडा नम्बर ९ बलघासमा पहिरोमा परी ज्यान गुमाएका १२ जनाका आफ्न्तलाई ८४ हजार, विस्थापित ३ परिवारलाई ९ हजार र गम्भीर घाइते भएका एक जनालाई ८ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको समाजका सहसचिव हिराबहादुर विकले जानकारी दिए।

उनका अनुसार बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष बिरेन्द्र बुढा र वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण केसीको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै बडिगाड वडा नं।१० वडाध्यक्ष विरेन्द्र बुढाले रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरूले गरेको सहयोगको प्रसंशा गरेका छन्।

गत साउन २२ गते पहिरोमा परी बडिगाड गाउँपालिका वडा नम्बर १० मा १० जना र वडा नम्बर ९ मा २ जनाको मृत्यु भएको थियो भने, ८ जना घाइते भएका थिए।

समाजले प्राकृतिक विपत्तिमा भएका घटनाहरुमा मात्र नभइ अन्य समाजिक कार्यहरूमा पनि सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष निराजन गौतमले बताए।

भदौ ९, २०८१ सोमबार ११:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।