चतरा मेलामा अनियमितता भएको भन्दै स्थानीयको दबाब

चतरा मेलामा अनियमितता भएको भन्दै स्थानीयको दबाब

सुनसरी : बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको खर्च विवरणमा अनियमित देखिएको भन्दै चतरामा स्थानीयले दबाबमुलक प्रदर्शन गरेका छन्।

ऐनअनुसार सूचना माग गर्दा पनि माग गरिएको विवरण कुम्भ मेला आयोजक समितिले उपलब्ध नगराएपछि स्थानीयले आइतबार खर्च विवरण उपलब्ध गराउनका लागि प्रदर्शन गरेका हुन्।

कुम्भ मेलामा विभिन्न शिर्षकमा भएको खर्चको बिल भर्पाइबारे जानकारी माग गर्दा आयोजकले उपलब्ध नगराएको स्थानीय पत्रकार भीषण राईले जानकारी दिए।

चतरामामा चैत २७ देखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला भएको थियो। करिब ५० लाख श्रद्धालुले मेला भरेको आयोजक समितको दाबी छ।

मेला आयोजक समितिले यसअघि नै मेलाबाट ७९ लाख ५ हजार ८५ सय २ रुपैयाँ ८२ पैसा खुद नाफा भएको जनाएको थियो।

दुई करोड २२ लाख ७० हजार ५ सय ६ रुपैयाँ ४२ पैसा रकम संकलन भएकोमा एक करोड ४३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ ६ पैसा खर्च भएको बताएको समितिले कुन शिर्षकमा कति खर्च भयो भन्ने विवरण सार्वजनिक नगरेपछि स्थानीयले र्याली निकालेका हुन्।

मेलामा अनियमितता देखिएको भन्दै वराहक्षेत्रका २० बढी सञ्चारकर्मीले सामूहिक हस्ताक्षर गरी कुम्भ मेला आयोजक समितिसमक्ष सूचनाको माग गरेका थिए।

गत असार २० गते पहिलो पटक निवेदन दिएको र सो निवेदन हाल राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिएको पत्रकार नवराज विष्टले जानकारी दिए।

भदौ ९, २०८१ सोमबार ०९:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।