प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित, वुल्भ्सको पोस्टमा चेल्सीको छ गोल
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकाल्दा चेल्सीले वुल्भ्सलाई फराकिलो अन्तरले हराएको छ।
आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ। ब्रेन्टफोर्डको भने पहिलो हार हो । उसको तालिकामा ३ अंकमात्रै छ।
लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डविरुद्ध २-० को सहज जीत निकाल्दा लुइस डियाज र मोहमद सलाहले एक-एक गोल गरेका थिए। खेलको १३औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाए। ७०औं मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २-० ले विजयी भयो।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन (वुल्भ्स)लाई ६-२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। चेल्सीको जीतमा चुकुनोन्सो ट्रिस्टन मडुकेले ह्याट्रिक गर्दा निकोलस ज्याक्सन, कोल पालमर र जाओ फ्लेक्सले एक-एक गोल गरे।
वुल्भ्सका लागि म्याथ्युस सान्टोस र जोर्जेन स्ट्रान्ड लार्सेनले एक-एक गोल फर्काए। चेल्सीका लागि निकोलस ज्याक्सनले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। वुल्भ्सका म्याथ्युस सान्टोसले गोल गर्दै २७औं मिनेटमा बराबरी गरे। ४५औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले अग्रता २-१ बनायो।
पहिलो हाफमै अतिरिक्त छैटौं मिनेटमा लार्सेनले गोल गरेपछि बुल्भ्सले पहिलो हाफ २–२ को बराबरीमा अन्त्य गरेको थियो। तर, दोस्रो हाफमा चेल्सीले थप आक्रामक खेल्दै थप ४ गोल गरेको थियो। ४९औं मिनेटमा चुकुनोन्सो ट्रिस्टन मडुकेले व्यक्तिगत पहिलो गोल गरेपछि चेल्सीले ३-२ को अग्रता लिन पुग्यो।
उनै मडुकेले ५८ औं र ६३ औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्दा चेल्सी ५-२ ले अघि बढेको थियो। ८० औं मिनेटमा जाओ फ्लेक्सले गोल गरेपछि चेल्सीले यो सिजनको पहिलो र फराकिलो जीत निकाल्न सफल भयो।
जितपछि चेल्सीले तालिकामा पहिलो ३ अंक जोड्न सफल हुँदा वुल्भ्सको भने यो लगातार दोस्रो हार हो। प्रिमियर लिगकै अर्को खेलमा एएफसी बर्नमाउथ र न्युक्यासल युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
भदौ १०, २०८१ सोमबार ०७:५१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।