सतीदेवी : दृश्यले मन चिमोट्दैन, फिल्म हेरेर रुन मन भए अर्कैले बेस्सरी चिमोट्नै पर्छ
पाँच वर्ष अघि समाचार प्रकाशित भएको थियो, कालिकोट तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटीले छोराको आशमा ७ वटी छोरी जन्माए। उनले छोराको खोजी गर्दागर्दै ८ औँ सन्तान छोरा जन्मियो। छोरो बिरामी हुँदा हस्पिटलमा छोरालाई बचाउन डाक्टरसँग रोइकराई गरे। अगाडि ७ वटा छोरी जन्मिएकाले छोरालाई केही भए फेरि छोरी जन्मिने भय देखिएको थियो उनमा।
यही समाजको सेरोफेरोको यस्तै कथा टिपेर लेखक,निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्म ‘सतीदेवी’ बनाए, जुन शुक्रवारबाट नेपालभर प्रदर्शन भइरहेको छ।
लामो समय चलचित्र पत्रकारिता गरेका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका थिए। दुवै फिल्म व्यावसायिक रूपमा असफल भयो। तेस्रो फिल्मको निर्देशन आफ्नै लगानीमा गरे। कथा पनि आफैँले लेखे। उनले कथा त राम्रै चयन गरे तर त्यसलाई दृश्य भाषामा पूर्ण रूपमा ढाल्न भने सकेनन्।
विषयसँगै कथालाई उनले कस्न सकेनन्, छरियो। कसिलो डोरी भए न भर दिने हो, फुकुवा डोरी त जति बेला पनि चुडिनसक्छ। यस्तै देखियो ‘सतीदेवी’।
२ घण्टा १६ मिनेट हाराहारीको फिल्मले विभिन्न अवार्ड जितेको थियो। फिल्म हेरेका दर्शक रोएको प्रचार पनि राम्रै गरियो। तर पुरस्कारको चाङ र आँसुको प्रचारले हलसम्म दर्शक तान्न सकिरहेको छैन फिल्मले। हलमा रुने मात्रै हैन हाँस्ने दर्शक पनि थिए है।
लमजुङको एउटा गाउँमा कुलेको ३ छोरी छोरी जन्मिन्छन्। उनी छोरोको आशमा चौथो पटक बच्चा जन्माउने कोसिस गर्छ। तीन छोरी-छोरी जन्मिएको भन्दै श्रीमतीलाई कुट्ने,हेला गर्ने उनको दैनिकी। खेतबारी अनि सतीको पेवा पाठो समेत जुवामा हार्छन्।
बुबाको दिनरातको आमासँगको झगडाबाट हैरान बनेकी १९ वर्षीय सतीदेवी अधिकारी (मलिका महत)ले चौथो पटक भाइ जन्मिए हुन्थ्यो भनेर कामना गर्छिन्। तर चौथो पनि छोरी नै जन्मन्छिन्। अब उनी आमालाई बाको कुटाइबाट जोगाउने उपायको खोजीमा लाग्छिन्। त्यसपछि कथाले लिने मोड नै फिल्मको महत्त्वपूर्ण पक्ष हो।
छोरा-छोरी जे भए पनि समान हुन् भन्ने सोच बढ्दो छ। तर यो लैङ्गिक विभेद अझैँ निष्क्रिय नै भइसकेको भने छैन। पहिलो सन्तान छोरा हुँदा ढुक्क हुने तर छोरी हुँदा दोस्रो या तेस्रो सन्तान खोज्ने पात्रहरू आधुनिक शहरकै समाजमै पनि भेटिन्छन्। छोरालाई वंश धान्ने, छोरी पराई घर धान्ने सोच अझै हराइसकेको छैन।
त्यसैले विषय छनौट समसामयिक छ। फिल्ममा समावेश गीत राम्रै सुनिन्छ। छोरी हुँदाको हेलालाई पर्दामा देखाउन निर्देशकले मिहिनेत गरेका छन्। केही दृश्यले दर्शकको मन कटक्क काटिन सक्छ, तर आहा भन्ने स्तरमा चैँ हैन। फिल्ममा समावेश ‘माया बसेको रैछ’बोलको गीतले फिल्मलाई साथ दिएको छ। अभिनयमा माइलीको भूमिकामा रहेकी हर्षिका ओलीको प्रयास राम्रो देखिएको छ।
लेखक समेत रहेका निर्देशकमा कथा टिप्दा नै यो समस्या ग्रामीण क्षेत्रमा मात्र छ है भन्ने मानसिकताले गाँजेको देखियो। जस कारण फिल्मको सेटअपमा उनी पुरानो शैलीमा फर्किए। पुरानो शैलीमा फर्कँदैमा फिल्म गतिलो नहुने भन्ने हैन, सेटअपसँगै गेटअपमा पनि ध्यान दिन त पर्यो नि। कथ्य शैली पनि ट्रेडिसनलहुँदा अहिलेको पुस्तामा सतीदेवी पुरै हेर्ने धैर्यता नहुन सक्छ।
पहिलो हाफ अनावश्यक रूपमा तन्काउनु नै निर्देशकको सबैभन्दा ठुलो कमजोरी हो। जसले अधिकांश दर्शकलाई हलबाट बाहिरिन बाध्य बनाउने जोखिम हुन्छ। फिल्मको दोस्रो हाफ बरु सुधारिएको छ।
फिल्मको कथाको छनौट अनुसार पटकथा र संवादमा लेखनमा निर्देशक सुवेदी चुकेका छन्। उनले फिल्मलाई भरपुर भावुकताको कलेवर दिने प्रयास त गरे तर कस्न नसक्दा दृश्यसँगै दर्शक कमै भावुक हुन्छन्। फिल्मको ब्याक ग्राउन्ड म्युजिक मध्यम छ।
फिल्मको सम्पादन फितलो छ। जम्पकट हान्दा एकातिरको दृश्य अर्कोतिर पुगेको छ। खिचाइमा क्यामेरामेन र निर्देशकबीचमै तालमेल मिलेको देखिएन। क्यामरा एंगलहरु निकै फितलो छन्। फिल्मको ब्याकग्राउण्ड म्युजिक निकै ठाउँमा जर्क सुनिन्छ छ। फिल्मको कलरिङ कमजोर देखिन्छ।
१९ वर्षीय सतीदेवी वरिपरिको घटनालाई फिल्मको केन्द्रमा राख्ने प्रयास गरेका छन्। यस अगाडिका फिल्मको अभिनयसँग दाँज्ने हो भने मलिकामा सुधार देखिन्छ। तर जसरी निर्देशकले पुरै फिल्मको भार बोकाए उनको चरित्रलाई त्यसमा भने उनी सफल हुन सकिनन्।
सतीदेवीका बुबा बनेका कुलदिपको अभिनय धेरै लाउड देखिन्छ। पात्र अब रिसायो है भनेर दर्शकलाई जानकारी दिन चिच्याउनै पर्ने त रगमञ्चमा मात्रै हो। किनकि दर्शक टाढा हुन्छन्। उनीहरूले अनुहारको हाउभाउबाट रिसायो कि खुसी भयो ठम्याउन गाह्रो पर्न सक्छ। तर फिल्ममा त क्लोज सटबाट मुहारको भावबाट पनि रिसाएको वा खुसी भएको वा आश्चर्यमा परेको देखाउन सकिन्छ नि। आमाको भूमिकामा रहेकी सृजना अधिकारीको अभिनयमा मिहेनत देखिन्छ।
यो फिल्मका अभिनेता भुवन केसी (सन्दीप बाबु लोहनी) को चरित्र फिल्ममा हुनु र नहुनुमा कुनै फरकपन देखिन्न।
यस अगाडिका दुई फिल्मको निर्देशकिय पक्षको तुलनामा सुवेदीले तेस्रो फिल्ममा मिहेनत गरेको देखियो। तर निर्देशकिय जिम्मेवारी मात्र नलिई फिल्मको निर्माता र लेखकसमेतहुँदा उनी अलमलिएछन्। सबैभार आफै बोक्दा निर्देशकिय जिम्मेवारी र लेखनलाई उनले कस्न सकेनन्। अनि फिल्म नै छरियो कता...कता।
व्यक्तिपिच्छेको भावना फरक हुन्छन् नै। त्यसैले फिल्म हेरेर दर्शक रुँदैनन् भन्न सकिन्न। कतिले त यस्तै भोगेका पनि हुन्छन्, उनीहरूले कसरी आँसु रोक्नु।
लैङ्गिक विभेद समाजमा कायम छ, तर स्वरूप र शैली बदलिएको छ। त्यसलाई बलियोसँग पस्किएको दृश्यले दर्शकको मन चिमोट्थ्यो, आँसु रसाउँथ्यो। तर निर्देशकले दर्शकको मन चिमोट्न सक्नेगरि फिल्म निर्माण गर्न चुक्दा अधिकांश दर्शकको आशु निकाल्नआफैँले बेस्सरी चिमोटे मात्र हो।
भदौ ९, २०८१ आइतबार २१:३७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।