राजश्व अनुसन्धानदेखि सतर्कता केन्द्रसम्मलाई बोलाएर प्रधानमन्त्रीले भने ‘देशलाई बर्बाद हुनबाट जोगाउनुस्’
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद हुनबाट जोगाउन निर्देशन दिए। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रस्टलगायत कार्यालयका प्रमुखहरूसँगको बैठकमा उनले तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा नगर्दा ठुलो राजश्व गुमेको बताए।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठुलो राजस्व गुमाएको र बेथिति हुर्किएको बताए।
‘अब त्यस्ता गतिविधि सैह्य हुँदैन, तस्करी भइरहन सम्भव छैन। तपाईँहरू जसको जे जिम्मेवारी हो त्यो पूरा गर्न दृढताका साथ लाग्नुस्। कार्यक्षेत्र निर्धारणमा समस्या भएमा पनि ल्याउनुस्। देशलाई बर्बाद हुनबाट जोगाउनुस्’ उनले भने।
उनले जनतालाई आशा र विश्वास दिने काम गर्न भन्दै आफ्नो प्रभावकारी औचित्य स्थापित गर्न नसक्ने हो भने भने जागिर खान मात्रै राज्यका निकायहरू खडा गरेर राखिरहनुपर्छ भन्ने नभएको समेत बताए।
उनले अझ राम्रोसँग काम गरुन् भनेर नै ती निकायहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा ल्याइएको भन्दै सोचे अनुसारको काम भने नभएकोमा असन्तुष्टि जनाए।
भदौ ९, २०८१ आइतबार २०:०३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।