नि: सन्तान सुखुको नक्कली छोरी बनाइदिने वडाध्यक्षको दाबी 'प्रहरीको सर्जमिनको आधारमा सिफारिस गरेँ, म संलग्न छैन’

नि: सन्तान सुखुको नक्कली छोरी बनाइदिने वडाध्यक्षको दाबी 'प्रहरीको सर्जमिनको आधारमा सिफारिस गरेँ, म संलग्न छैन’

बुटवल : नि: सन्तान सुखु मल्लाहको मृत्युपछि छोरी भएको दाबी गर्ने मल्ती मल्लाहिन र रिखीदेवी अग्रवालको नागरिकता बनाउन सिफारिस सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले प्रहरीले सर्जमिन प्रक्रिया पुरा गरेर आफूकहाँ ल्याएपछि सर्जमिनमा संलग्न कागजातमाका आधारमा आफूले हस्ताक्षर गरेको दाबी गरेका छन्।

उकेराले शनिवार सुखुको जन्ममितीको आधारमा उनी ६ वर्षको हुँदा जन्मिएको छोरी भएको दाबी गर्दै अपुतालीमा सम्पत्तिको दाबी गरेकी मल्ती मल्लाहीनलाई वडाध्यक्षदेखि जिल्ला न्यायाधीशसम्मले छोरी प्रमाणित गराएकोबारे समाचार प्रकाशित गरेको थियो।

राणाले आइतबार पत्रकार सम्मेलन गरेर रिखीदेवी अग्रवालको घर वडा नम्बर ८ मै भएको तर मल्तीकोबारे आफूलाई केही थाहा नभएको दाबी गरे। केही जानकारी ने नभएको व्यक्तिलाई वंशजको आधारमा नागरिकता बनाउन उनले सिफारिस गरेका थिए। उनकै सिफारिसका आधारमा उनले नागरिकता समेत बनाइन्। अहिले त्यही नागरिकताको आधारमा उनले आफूलाई सुखुको छोरी भएको दाबी गर्दै उनको सम्पत्तिमा दाबी गरिरहेकी छिन्।

सुखुको जन्ममिती २००६ हो भने मल्तीको २०१२। मल्तीको दाबी सत्य हुनका लागि सुखुको पाँच वर्षमा विवाह भएर ६ वर्षमा छोरी जन्मिनुपर्छ। नागरिकतामा उल्लेख जन्ममितीले नै उनको दाबी झुटो देखाए पनि जिल्ला अदालत रुपन्देहीका तत्कालीन न्यायाधीश उमेश कोइरालाले उनलाई सुखुको छोरी भएको फैसला गर्दै अपुताली बापत सम्पत्ति दिन आदेश जारी गरेका थिए।

नागरिकतामा उल्लेख भएको जन्ममितीको आधारमा न्यायाधीश कोइरालाको फैसला त्रुटीपूर्ण देखिन्छ। उनी २०८० पुस १८ मा न्यायपरिषद्को सिफारिसमा उच्च अदालतको न्यायाधीशमा बढुवा भइसकेका छन्। उनी अहिले पोखरामा कार्यरत छन्।

अपुताली हक कायम गर्दै कोइरालाको इजलासबाट भएको फैसला।‘प्रहरीले हस्ताक्षरका लागि ल्याएका कागजातमा महिलाले वंशजका आधारमा प्राप्त गरेका नागरिकताका प्रमाणपत्र संलग्न थिए। सर्जमिन मेरै वडाबाट गराउने भूमिकामा मलाई जोडिएको भएता पनि उक्त कार्यमा म कुनै किसिमले संलग्न छैन’ वडाध्यक्ष राणाले भने।

उनले रिखीदेवी अग्रवालका श्रीमान् राजेशकुमारले केही समयपछि बसोबास, पारिवारिक विवरण र नाता प्रमाणित लगायतका प्रक्रियाका लागि पेस गरेका कागजपत्र शङ्कास्पद देखिएकाले अहिले त्यी सबै कागजपत्र आफूले रोकेको दाबी समेत गरे।

सिद्धार्थनगर–६ का निःसन्तान दम्पती सुखु मल्लाह र कवुतरी मल्लाहको छोरी भन्दै रिखीदेवी र मायादेवी–३ की बासिन्दा मल्ती मल्लाहीनले नागरिकतामा सुखुको नाम राखेर नागरिकता बनाएका थिए।

अदालतको फैसलाबाट सुखुका दाजु फौदार मल्लाहका छोराहरू सिद्धार्थनगर–६ का लालजित मल्लाह र सन्त मल्लाहले काकाको सम्पत्ति आफ्नो नाममा गराएका छन्। सुखु र कवुतरीको मृत्यु भइसकेको छ। मल्ती र रिखीदेवीले उनै सुखुको छोरी भएको दाबी गरिरहेका छन्।

भदौ ९, २०८१ आइतबार १९:४२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।