नेपालमा किन आइरहेछ यति धेरै कोकिन !

नेपालमा किन आइरहेछ यति धेरै कोकिन !

काठमाडौँ : लागु औषध नियन्त्रण ब्यूरोले आइतबार १ किलो ८८ ग्राम कोकिनसहित पक्राउ परेका आइभरीकोस्टका ३५ वर्षीय वारामा कोनलाई सार्वजनिक गर्यो। भदौ ३ मा ठमेलको ज्याठास्थित एक होटेलमा पक्राउ परेका भनिएका उनको साथबाट प्रहरीले  १ किलो ८८ ग्राम कोकिन फेला परेको दाबी गरेको छ।

उनी इथियोपियाबाट दोहा हुँदै कतार एअरवेजमार्फत् काठमाडौँ आएर एक होटेलमा बसेका थिए। उनी कोकिनको क्याप्सुल निलेर नेपाल आएको प्रहरीको दाबी छ। नेपाल आएपछि निलेको कोकिन निकालेर उनले बच्चाको खेलौना (डल)मा लुकाएर राखेको अवस्थामा फेला परेको ब्यूरोको दाबी छ। बरामद कोकिनको  अवैध बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ।

ब्यूरोका एसएसपी दिनेश आचार्यका अनुसार अहिलेसम्म नेपाली बजारमा कोकिनका प्रयोगकर्ता भेटिएका छैनन्। त्यसको आधारमा उनी नेपालमा जे जति कोकिन भित्रिएको छ त्यसको लक्षित बजार नेपाल हैन भन्ने प्रहरीको दाबी देखिन्छ।

पछिल्लो समय फाट्टफुट्ट हैन, कोकिनसहितका कारोबारी पक्राउकोक्रम बढेको छ। पक्राउ सङ्ख्या बढ्नु सुरक्षा निकाय सक्रिय भएको सङ्केत पनि हो। तर सँगै नेपालमा कोकिन भित्रिने क्रम बढेको पनि हो। यदि कोकिनको बजार नेपाल हैन भने दक्षिण अमेरिकी देशमा उत्पादन भइरहेका कोकिन किन भित्रिरहेको छ त?

आचार्य अहिलेसम्म ब्यूरोले नेपालमा कोकिनको प्रयोगकर्ता नभेटिएको दाबी गर्छन्। यसको पहिलो कारण त यो अति महँगो हुनु नै हो। एक ग्राम कोकिनकै मूल्य ४० लाख रुपैंया बराबर हुन्छ। यसैको आधारमा उनी नेपालमा भित्रिएको कोकिनको लक्षित स्थान नेपाल बाहिर रहेको बताउँछन्।

‘नेपालमा अहिलेसम्म कोकिनको प्रयोगकर्ता फेला परेको छैन। यसको आधारमा नेपाललाई ट्रान्जिट बनाएर विशेष गरी भारत लैजान सक्रिय रहेको देखिन्छ,’ एसएसपी आचार्यले उकेरासँग भने।

नेपालमा कोकिन बोकेर आएका र कोकिन लिन आएका दुबै थरीका कारोबारी पक्राउ परेका छन्। कोकिन बोकेर आउनेहरू अधिकांश अफ्रिकी र केही युरोपेली मुलुकका नागरिक छन् भने कोकिन लिन आउनेहरू भारतीय। यसको आधारमा नेपालमा जुन समूहले कोकिन भित्र्याइरहेको छ त्यसको लक्ष्य भनेको नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्याउने  देखिन्छ।

हप्तैपिच्छे समातिन थाले कारोबारी

आइतबार घटनासहित साउन महिनामा मात्रै ब्यूरोले कोकिनसहित विदेशी नागरिक पक्राउ गरेको यो चौथो घटना हो। यस अगाडि साउन २८ मा नयाँबानेश्वरको होटेलमा तान्जानियाका जुमा अब्दुलाह २ किलो १ सय ४ ग्राम कोकिन सहित समातिएका थिए। उनीसँगै कोकिन लिन आएका भारतीय नागरिक के जुचोबेनीसमेत पक्राउ परे।

साउन २३ मा ताल्भियनका नागरिक इवर्स वार्टर्स सुटकेसमा ६ किलो २४ ग्रामको कोकिन बोकेर आउँदा समातिए। साउन १ मा भारतको मुम्बईबाट नेपाल आएर ठमेलमा बसेका भारतीय नागरिक फहीमुद्दीन नसीमुद्दीन अन्सारी जुसका दुई बट्टामा राखेको एक किलो सय ग्राम कोकिन सहित पक्राउ परे। उनी नेपालमा रहेका नाइजेरिया नागरिक इकेचुकवा सिरिल ओबोडोफुलासँग कोकिन लिन नेपाल आएको खुल्यो।

उनी कतारको दोहाबाट कोकिन लिएर नेपाल आएका थिए। असारमा पनि कोकिन सहित पक्राउ गर्ने क्रम जारी नै थियो। असार ९ मा कतारबाट नेपाल आएका नाइजेरिया नागरिक रामधनी सिम्बा मवाबुम्बा र त्वालिब किपेवु पशुआ एक किलो दुई सय ४७ ग्राम कोकिन सहित समातिए। उनीहरूले क्याप्सुल निलेर इथोपियाबाट नेपाल आएको अनुसन्धानमा खुलेको थियो।

असार १ मा कतार एअरबाट नेपाल आएका भेनेजुलियन नागरिक सिमोन एन्तोनियो सिनामंगलको एक होटेलमा बसे। असार ४ गते ब्यूरोको टोलीले उनको होटेलमा तलासी लिँदा कोकिनका ९२ क्याप्सुल फेला पर्यो जसको तौल १ किलो १९८ ग्राम थियो। अनुसन्धानमा उनले ती क्याप्सुल ब्राजिलको सापाउलोबाट निलेर नेपाल आएको खुल्यो। ब्यूरोको टोलीले कोकिन लिन आएको आरोपमा भारत मिजोरमका लालरुआ तसाङ्गीलाई पक्राउ गरेको थियो।

उनी कोकिन भारतको दिल्ली लैजान नेपाल आएको खुल्यो। २०८० चैत १६ मा १ किलो ४ सय ५५ ग्राम कोकिनसहित ब्राजिलियन नागरिक लारिसन ब्रिटो दोसान्तोस सुटकेसमा ७७ वटा प्लास्टिकले ऱ्यापिङ गरिएका कोकिनका क्याप्सुसहित समातिए।

कोकिनको तौल ८ सय ४० ग्राम निस्कियो। फर्नान्डा भेल डोस सान्टोसको सुटकेसभित्र ६२ वटा प्लास्टिकले ऱ्यापिङ गरिएका कोकिन क्याप्सुल फेला पर्यो। तौल ५ सय ५० ग्राम थियो।  उनीहरू ब्राजिलको सापाउलोबाट नेपाल आएको खुल्यो। उनीहरूको पेटमा अझैँ कोकिन क्याप्सुल रहेको शङ्कामा अस्पताल लैजाँदा ६ वटा क्याप्सुल निस्किएको थियो।

असार ६ मा ४ किलो ५०४ ग्राम कोकिनसहित ४ जना पक्राउ परे। फ्लाइ दुबइबाट आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सिन माबुषगा ठमेलको एक होटेलमा समातिएका थिए।

उनको साथबाट १८ क्याप्सुल कोकिन फेला पर्यो। अनुसन्धानमा उनले इथोपियामै क्याप्सुल निलेर नेपाल आएको खुल्यो। प्रहरीले उनलाई फेला पार्दा पेटमा रहेको सबै क्याप्सुल निकालीसकेका थिएनन्। प्रहरीले प्रहरी अस्पताल लगेर उनको पेटमा रहेको थप ५९ क्याप्सुल निकालियो। जम्मा ७७ वटा कोकिनका क्याप्सुलको तौल १ किलो २०६ ग्राम निस्कियो।

जेठ ३० मा इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौँ आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोना विमानस्थलमा समातिइन्। उनको साथमा रहेको झोलाभित्र रहेको फेन्सी लुगाहरूमा भएका १२१ वटा बटनहरू भित्र कोकिन फेला पर्यो। कोकिनको तौल २ किलो एक सय ग्राम निस्कियो।

जेठ ४ मा दुबईबाट काठमाडौँ आएकी कङ्गोकी नागरिक अपुला एकुत्सु मबोंगो एक किलो एक सय एक ग्राम कोकिनको क्याप्सुलसहित ठमेलमा पक्राउ परिन्। वैशाख ३० मा कतारबाट आएका युगान्डाका केविना मुगला एक किलो २ सय ६० ग्राम कोकिन सहित समातिए। वैशाख २ मा ठमेलमा लिलियन सुसान वेन्येंज़े स्निकर्सभित्र कोकिन राखेर ल्याएको अवस्थामा पक्राउ परे। उनको साथबाट एक किलो ३ सय ९४ ग्राम कोकिन फेला परेको थियो भने कोकिन लिन आएकी भारतीय नागरिक देवाजनी पाल समेत समातिइन्।

कतार र दुबईहुँदै नेपाल

नेपालमा जति पनि कोकिन कारोबारीहरू समातिएका छन् उनीहरू इथियोपिया र ब्राजिलबाट कतार वा दुबई आएर फ्लाई दुबई वा कतार एयरबाट नेपाल आउने गरेको खुल्यो। यस अगाडि पक्राउ परेका कोकिन कारोबारीहरूको साथमा विभिन्न सामानमा लुकाएर ल्याएको पाउडरको आकारमा कोकिन फेलापर्थ्यो। तर अहिले जति फेला परेका छन् एक घटनाबाहेक सबैमा क्याप्सुल फेला पर्यो। एक कारोबारीले भने कपडाको टाँकभित्र कोकिन लुकाएर ल्याएकी थिइन्।

अन्य कारोबारीहरूले कोकिनको क्याप्सुल निलेर नेपाल आएर होटेलमा निलेको क्याप्सुल निकालेको र कतिपय पेटमै क्याप्सुल भएको अवस्थामा पक्राउ परेका थिए।

‘अधिकांशले जुन देशबाट कोकिन बोकेर आउने हो त्यहीँ कोकिनको क्याप्सुल निलेर आउने गरेको देखियो,’ ब्युरो प्रमुख समेत रहेका एसएसपी आचार्यले भने ‘केहीको हकमा भने कतार वा युइएको दुबईमा आएर क्याप्सुल निलेर नेपाल आउने गरेको देखियो।’

आचार्यले उकेरालाई दिएको जानकारी अनुसार नेपालमा फेला परेका कोकिनको मूल स्रोत दक्षिण अमेरिकाका विभिन्न देशहरु नै हुन्। नाइजेरिया, ब्राजिल र इथोपियाबाट विभिन्न देश हुँदै कोकिन नेपालसम्म हवाई मार्गबाट भित्रिने गरेको र नेपालबाट स्थल मार्गबाट भारत भित्रिने गरेको देखिएको उनले बताए।

अफ्रिकी अनि अमेरिकी देशका नागरिकहरू कोकिन बोकेर नेपालसम्म आउने र भारतीय नागरिकहरू नेपाल आएर कोकिन लिएर स्थल मार्गबाट भारत जाने गरेको ब्युरोको अनुसन्धानमा खुलेको देखिन्छ।

कोकिनसहित पक्राउ परेका कारोबारी। तस्बिर : लागु‍औषध अनुसन्धान ब्यूरो।नेपाललाई ट्रान्जिट बनाएर कोकिन कारोबार गर्न नाइजेरिया समूह सक्रिय देखिएपछि ब्युरोले उनीहरूमाथि विमानस्थलबाटै विशेष निगरानी राख्न सुरु गर्यो। कारोबारीहरू समातिए पनि। जब उनीहरूले यो चाल पाए अनि युरोपियन नागरिकलाई प्रयोग गर्न थाले।

'अधिकांश कारोबारी अफ्रिकीमूलका देखिएपछि हामीले विशेष निगरानी बढायौँ। अप्रेसन उपलब्धिमूलक पनि भयो,’ एसएसपी आचार्यले भने ‘त्यसपछि उनीहरूले शङ्का नहोस् भनेर युरोपेली मुलुकका नागरिकलाई प्रयोग गर्न थाले।’

नेपालमा समातिएका लागु औषध भरिया मात्रै

हालसम्म नेपालमा कोकिनसहित जति विदेशी नागरिक पक्राउ परेका छन् उनीहरूको हैसियत कोकिन एक ठाउँबाट बोकेर अर्को ठाउँ पुर्याउने मात्र रहेको देखिन्छ। कतारको दोहा अनि युएइको दुबईहुँदै कोकिनको क्याप्सुल निलेर आउनेहरूको होटेल पहिल्यै बुक हुन्छ। उनलाई सिधै होटेलमा जान भनिन्छ।

उनीहरू होटेलमा पुगेर निलेर आएको कोकिनका क्याप्सुल निकालेर निर्देशन अनुसार सुटकेस, खेलौना, चकलेटमा लुकाएर राख्छन्। अनि भारतबाट अर्को भरिया आउँछन् नेपाल। उनीहरूलाई पनि होटेलको नाम र कोठा नम्बर मात्र भनिएको हुन्छ। उनीहरू होटेलमा जान्छन् र कोकिन लिएर स्थल मार्गबाट भारत जान्छन्।

‘अहिलेसम्म जति समातिएका छन् ती भरिया हुन्। उनीहरूले एक अर्कालाई चिन्दैनन्। उनीहरूलाई कसले नेपाल पठायो भन्नेसम्म खुलाउन सकिन्न,’ एसएसपी आचार्यले भने ‘नेपालमा आएकाहरूसँग कोकिन लिन भारतीय नागरिकहरू स्थलमार्गबाटै आउने र स्थलमार्गबाटै जाने गर्छन्।’

केन्द्र सिनामंगल र ठमेल

पक्राउ पर्ने अधिकांश कारोबारीहरू सिनामंगल र ठमेलको होटेलमा भेटिएका छन्। विमानस्थलबाटै नजिकै पर्ने भएकाले उनीहरूको पहिलो रोजाई सिनामंगल क्षेत्रका होटेल देखिए। होटेलको कोठा अनलाइनबाट पहिल्यै बुक भएको हुन्छ। कोकिन बोकेर आएकाहरू सिधै होटेलमा गएर कोकिन लिन आउने कुरेर रुममा बस्छन्। उनीहरू होटेलबाट बाहिर निस्कँदैनन्।

कोकिन लिन आउनेहरू पनि सिधै सिनामंगल जान्छन्। दोस्रोमा ठमेल। ठमेलका होटेल लागुऔषधको डिलमा प्रयोग हुने पुरानै हो। तर पछिल्लो समय ठमेलभन्दा पनि कारोबारीको रोजाई सिनामंगलका होटेल हुने गरेको देखिन्छ।

नेपालमा कोकिन कारोबार हुन्न ?

नेपालमा उच्च घरानाका सदस्यहरू कोकिनको ग्राहकको रूपमा पोलिन्छन्। केही स्थानमा ट्रान्स पार्टी आयोजना समेत हुने गरेका छन् जहाँ सीमित नेपाली र अधिकांश विदेशी नागरिक सहभागी भएका हुन्छन्। त्यस्ता पार्टीमा कोकिन समेत प्रयोग हुने शङ्का नभएको हैन। तर अहिलेसम्म फेला परेको छैन। त्यसैको आधारमा प्रहरी ढुक्कसँग कोकिनको लक्षित बजार नेपाल नभएको दाबी गर्छन्।

तर नेपाली बजारमा कोकिन फेलै नपरेको भने हैन। २०७८ साउनमा नेपाली बजारमा समेत कोकिन फेला परेको थियो। तर त्यो कोकिन नेपाली बजार लक्षित गरेर भित्रिएको भने थिएन।

कोकिन सहित बोलिभियाबाट नेपाल आएका रोर्बटो कार्लोस बसेको अपार्टमेन्टबाट उनको ज्याकेट चोरी भएको थियो। क्लिनरले ज्याकेट चोरी गरेका थिए जसमा कोकिन थियो। कोकिन राखेको ज्याकेट हराएपछि उनी नेपालबाट भागे।

उता अपार्टमेन्टको क्लिनरले ज्याकेट लगेर हेर्दा पाउडर फेला पारिन्। तर पाउडर के हो थाहा पाइनन्। उनले त्यो पाउडरबारे रक्की आले मगर र सुरज गुरुङलाई बताइन्। उनीहरूले धुलो पोखरा पठाउँदा कोकिन भएको खुल्यो।

अनि भारतीय नागरिक सन्दीप पट्टेल, पट्टेलहुँदै मच्छिन्द्र धमला र मिराज ढकालहुँदै कोकिन सुदन शाक्यकोमा पुग्यो। अन्जुले केही धुलो आफूसँग पनि राखेकी थिइन्। त्यो एकराज गुरुङ, रेसम बहादुर राना, मन गुरुङ, मुकुन्द खड्कालाई दिएकी थिइन्। उनीहरूले पर्यटकीय क्षेत्रमा कोकिनका ग्राहक खोज्दाखोज्दै ब्युरोले एक किलो बढी कोकिनसहित पक्राउ गर्यो।

अन्जुले ज्याकेटमा २ किलो २ सय ग्राम कोकिन फेला पारेको खुल्यो। प्रहरीले एक किलो पाँच सय १२ ग्राम मात्र फेला पार्यो। बाँकी ६ सय ८८ ग्राम कोकिन नेपाली बजारमा खपत भइसकेको खुलेको थियो।

यसले नेपालमा पनि कोकिनका प्रयोगकर्ता रहेको त देखियो। तर सो कारोबार नेपालको बजार लक्षित नभई ज्याकेट चोर्दा फेला परेको कोकिन व्यवस्थापनका लागि बजारमा पुगेको देखिएको भन्दै प्रहरीले अनुसन्धान बन्द गर्यो।

भदौ ८, २०८१ आइतबार १७:५६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।