व्यास नगरपालिकाले ५० हजारको सिसाको बोतल बिक्री गर्यो, फोहरबाट मासिक एक लाख आम्दानी गर्ने लक्ष्य

व्यास नगरपालिकाले ५० हजारको सिसाको बोतल बिक्री गर्यो, फोहरबाट मासिक एक लाख आम्दानी गर्ने लक्ष्य

काठमाडौं : तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापन गरी आम्दानी योजनाअनुरुप पहिलो चरणमा नकुहिने फोहरलाई वर्गीकरण गरी बिक्री गर्न थालेको छ। 

विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री गरिरहेको वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए। 

नगरपालिकाले ५० हजार बराबरको सिसाको बोतल बिक्री गरिसकेको छ। अन्य प्लाष्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।

नगरपालिकाले न्यूनतम दररेट कायम गरी १५ दिनको सूचना जारी बोलपत्र आह्वान गरेको हो। जसअनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ५० रूपैयाँ, फलाम प्रतिकेजी २८ रूपैयाँ, टीन २० रूपैयाँ, पानीको बोतल तथा अन्य बोतल २० रूपैयाँ, कपडा चार रूपैयाँ ५० पैसा, कपि १५ रूपैयाँ, किताब १४ रूपैयाँ दररेट कायम गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले यसअघि वडा नम्बर ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो। त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। 

उनका अनुसार फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकाको पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहर वर्गीकरण गरिएको छ। नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन हुने गरेको छ। 

कुहिने फोहरलाई व्यास-१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ। नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नम्बर १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सुक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना अघि बढाइएको बताए। यसबाट मासिक एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ। 

भारतबाट किनेर ल्याएको ‘बेलिङ’ मेसिन नगरपालिका परिसरमा जडान गरी नकुहिने प्लाष्टिकजन्य, फलामजन्य र कागजजन्य वस्तुलाई ठूलो आकारबाट सानो आकार बनाउने काम भइरहेको छ।  

भदौ ८, २०८१ आइतबार १३:२४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।