निगुरो व्यापार : बिनालगानी मासिक एक लाखसम्म कमाई गर्छन् सर्लाहीका गृहिणी!

निगुरो व्यापार : बिनालगानी मासिक एक लाखसम्म कमाई गर्छन् सर्लाहीका गृहिणी!

बरहथवा (सर्लाही) : पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गर्छन्। निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन्। 

झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ। वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने बरहथवाका स्थानीय बताउँछन्। लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ। 

सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन्। विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन्। 

बरहथवा नगरपालिका-९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छिन्। उनले निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको बताइन्। 

'यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ। दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु', उनले भनिन्। 
    
फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनको भनाइ छ। वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एक जनाले कमाउने गर्छन्। 

निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ। देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ। तर, आम्दानीको राम्रो स्रोत बनेको उनी बताउँछन्।  

बरहथवा-९, मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिप्ने गरेको बताउँछन्। 

'राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु। यसको मूल्य सधैँ एकनाश रहन्छ। धेरै घटबढ गर्दैन', उनले भने। 

आफ्नो बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उनले सुनाए। बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ। 

सोही स्थान बस्नुहुने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ। छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताइन्। 

'फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्। दैनिक बिहानबेलुका दुई/चार घण्टा खट्दा राम्रो कमाई हुन्छ, उनले भनिन्।  

गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हुन्छ। 

'गाउँतिरै पनि खोज्ने मान्छे आउँछन्', उनले भनिन्, व्यापारीलाई पनि अझै पुगेको छैन।' 

व्यापारीहरूले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको समय पैसा दिने गरेका स्थानीयको भनाइ छ। 

निगुरो बेचेर बचत गरेको पैसाले आपत् विपतमा गर्जोटार्नदेखि औषधि उपचारमा सहयोग पुगेको स्थानीय नानीमैया कार्कीले बताइन्। 

'निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन। त्यस्तो दुःख पनि हुन्न। केही घण्टा खट्ने हो। दुई चार सय भइहाल्छ, उनले सुनाइन्। 

यसले ठूलो भरथेग भएको भन्दै उनले थपिन्, 'मीठो मसिनो खान, औषधि उपचार र घरखर्च नै धानेको छ।' 

यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने सङ्कलन गर्ने र काठमाडौँका बजारसम्म पुर्याउने गरेको व्यवसायी सुनिता महतोले बताइन्। 

उनका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपैयाँ पाउँथे। अहिले जोडी मुठाको २५ रूपैयाँ पाउँछन्। निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उनले सुनाइन्। सङ्कलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गरेका छन्। 

यस क्षेत्रका ३६/३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिए। 

'दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्याउँछु। एक बोरामा ८० मुठा हुन्छ। दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ, उनले भने। 

निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा ३० लाख आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताए। 

मासिक चार लाख बराबरको निगुरो स्थानीयसँग सङ्कलन गरेर बजारमा लैजाने गरेको उनको उद्यमी महतोको भनाइलाई आधार मानेर उनले त्यति रकम आर्जन हुने अनुमान सुनाए। 

ठूलो परिवारका भएका घरका स्थानीयले महिनामा एक लाखसम्मको निगुरो टिप्ने गरेका उद्यमी महतोले बताए। 

भदौ ८, २०८१ आइतबार १२:३५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।