म्याग्दीमा बाढीले गाडी बगायो, यात्रु र चालकले भागेर ज्यान जोगाए
काठमाडौं : शनिबार रातिको मुसलधारे वर्षाले म्याग्दीको बेनीबजार आसपासका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ-बेनी सडकअन्तर्गत बेनी नगरपालिका-१ हुलाकेको खोल्साको बाढीले बगाएको छ। यात्रु र चालकले भागेर ज्यान जोगाएका छन्।
बेनी नगरपालिका-९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ। राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीय बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका डिएसपी नेपालले बताए।
बेनी नगरपालिका-८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ।
बाढी र पहिराेका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन्। बागलुङ-बेनी सडक हुलाकेमा, बेनी-जोमसोम सडक गलेश्वरमा, बेनी-दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा-बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराेका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए।
उनका अनुसार सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको छ।
जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ।
भदौ ९, २०८१ आइतबार ०८:३०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।