इंग्लिस प्रिमियर लिग : आर्सनल लगातार दोस्रो खेलमा विजयी, म्यानचेस्टर सिटीले इपिस्वीप टाउनलाई हरायो

इंग्लिस प्रिमियर लिग : आर्सनल लगातार दोस्रो खेलमा विजयी, म्यानचेस्टर सिटीले इपिस्वीप टाउनलाई हरायो

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लगातार दोस्रो खेलमा विजयी भएको छ। 

शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जीतमा लियोनार्दो ट्रोसान्ड र थोमस पार्टेले एक एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले ६७ औं मिनेटमा अग्रता लिएको थियो। ट्रोसान्डले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाए।

त्यसको १० मिनेटपछि पार्टेले गोल गरेपछि आर्सनल २-० ले अघि बढेको थियो। त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि २-० को नतिजा निकाल्न सफल भयो। 

जीतसँगै आर्सनलले २ खेलबाट ६ अंक बनाउँदा एस्टनले समान खेलबाट ३ अंकमात्रै बनाएको छ। 

टोटनह्यामको जीत
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हटस्परले एभर्टनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। टोटनह्यामको जीतमा सन हिउङ मिनले २ गोल गर्दा एभेस विसोउमा र क्रिष्टियन रोमेरोले एक/एक गोल थपेका थिए।

टोटनह्यामले घरेलु मैदानमा १४ औं मिनेटमा अग्रता लिएको थियो। एभेसले टिमका लागि पहिलो गोल गरे। २५ औं मिनेटमा सनले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा २ गोल गरेको टोटनह्यामले दोस्रो हाफमा अरु २ गोल थपेको थियो।

७१ औं मिनेटमा रोमेरोले गोल गरेपछि टोटनह्याम फराकिलो जीत तर्फ अग्रसर भयो। ७७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा अन्ततः टोटनह्याम ४-० को जीत निकाल्न सफल भयो। 

जितसँगै टोटनह्यामले २ खेलबाट ४ अंक बनाएको छ। एभर्टनको भने यो लगातार दोस्रो हार हो।

सिटीको जीतमा हालान्डको ह्याट्रिक
इंग्लिस प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले इपिस्वीप टाउनलाई ४-१ गोल अन्तरको पुनरागमन जीत निकालेको थियो। १ गोलले पछि परेको सिटीलाई स्टार खेलार्डी एर्लिङ हालान्डले ह्याट्रिक गर्दै उद्दार गरेका थिए।

सातौं मिनेटमा स्यामुएल सेजमोडिकले गोल गर्दै इपिस्वीपलाई अग्रता दिलाएका थिए। १२ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई बराबरीका साथ खेलमा फर्काए।

केभिन डी ब्रुएनाले १४ औं मिनेटमा गोल गरेपछि सिटी २-१ ले अघि बढेको थियो। १६ औं मिनेटमा ब्रुएनाको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले सुरुमै ३-१ को अग्रता लिन सफल भयो।

हालान्डले ८८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा सिटी अन्ततः ४-१ गोल अन्तरको जीत निकाल्न सफल भयो। 

यो सिजनमा सिटीको लगातार दोस्रो जीत हो। यसैसिजन प्रिमियर लिग खेलिरहेको इपिस्वीप टाउनको भने लगातार दोस्रो हार हो। 

भदौ ९, २०८१ आइतबार ०७:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।