ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जीत
काठमाडौं : स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो जीत निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जीतमा युवा स्टार खेलाडी लामिन यामल र भेट्रान खेलाडी रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरेका थिए। बिलबाओको तर्फबाट ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए।
२४ औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर, ४३ औं मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले बराबरी गोल गरे।
७५ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोना २-१ गोलको जीत निकाल्न सफल भयो। बार्सिलोनाको लगातार दोस्रो जीत हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ।
ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १-० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
त्यसैगरी ओसासुनाले मालोर्कालाई १-० गोल अन्तरले स्तब्ध बनाएको छ।
भदौ ८, २०८१ आइतबार ०७:२५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।