दुई करोड ५० लाखको सम्पत्ति हत्याउन न्यायाधीशदेखि वडाध्यक्षसम्मको खेल, ५ वर्षमा बिहे, ६ वर्षमा छोरीको बा

दुई करोड ५० लाखको सम्पत्ति हत्याउन न्यायाधीशदेखि वडाध्यक्षसम्मको खेल, ५ वर्षमा बिहे, ६ वर्षमा छोरीको बा

बुटवल : ६ वर्षकै उमेरमा बिहेवारि गरेर सन्तान पनि जन्माउन सम्भव छ? जैविक रूपमा असम्भव छ। तर  जिल्ला अदालत रुपन्देहीका तत्कालीन जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले गरेको फैसला हेर्ने हो भने सम्भव छ।

अंश सम्बन्धी विषयमा रुपन्देही अदालतमा परेको मुद्दामा २०८० भदौ २६ मा  फैसला गर्दै कोइरालाको इजलासले २०१२ साल जन्ममिती रहेकी मल्ती मल्लाहीनलाई २००६ सालमा जन्मिएका सुखु मल्लाहको छोरी कायम गरिदिए।

२०४० असोज ११ गते जारी भएको सुखुको नागरिकतामा उल्लेख भएको उमेर अनुसार उनको जन्ममिती २००६ देखिन्छ। अनि जिल्ला प्रशासन कार्यालयबाट जारी मल्ती मल्लाहीनको उल्लेख उमेर अनुसार उनको जन्ममिति: २०१२ साल नै उल्लेख छ जहाँ उनको बाबुको नामको ठाउँमा सुखुको नाम राखिएको छ। जारी मिति २०४६ जेठ २० उल्लेख छ।

तत्कालीन जिल्ला न्यायाधीश कोइरालाले नागरिकतामा बाबुको नाम लेखेको आधारमा पुन प्रश्न उठाउन र थप प्रमाण खोज्न आवश्यक नभएको भन्दै मल्तीलाई सुखुको छोरी कायम गरिदिए।

किन यस्तो भयो? यो विवाद साढे दुई करोड भन्दा बढी रुपैयाँ पर्ने रुपन्देहीको सिद्धार्थनगर, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाको करिब १८ कट्ठा जमिनमा गएर जोडियो।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का सुखु मल्लाह नि : सन्तान भएको भन्दै उनको मृत्युपछि उनका दाइ फौदार मल्लाहका छोरा लालजित र सन्त मल्लाहको नाममा गयो। त्यो पनि अदालतको फैसलाबाट।

तर एकाएक दुई महिलाले आफूहरू सुखुको छोरी भएको दाबी गर्दै अदालतमा मुद्दा हाले। अनि अदालतले दुवैको नागरिकतामा बाबुको नाम सुख मल्लाह रहेकाले शङ्का गर्नुपर्ने अवस्था नरहेको भन्दै सुखुलाई मृत्युपछि नि: सन्तान हैन कि मल्ती मल्लाहीन र रिखीदेवी मल्लाह अग्रवालको बाबु ठहर गरिदियो। जबकि उनीहरू भारतीय नागरिक बदल मल्लाहका छोरीहरू थिए।

अदालतले जसलाई छोरी हो भन्दै सम्पत्ति दिने फैसला गर्यो उनको र सुखको नागरिकतामा उल्लेख भएको जन्ममिती हेर्ने कष्टै गरेको देखिएन। फैसलामा मल्ती र रिखीदेवीको नागरिकताको प्रमाण पत्रमा बाबुको नाम सुखु उल्लेख रहेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको रेकर्डमा समेत यही देखिएको भन्दै दुबैलाई सन्तान कायम गरिदियो। अनि सुखको सम्पत्ति अपुताली हक अनुसार दाजुको सन्तानले नभई छोरीहरूले पाउने भन्दै उनीहरूको नाममा गर्न आदेश दियो।

नागरिकतामा जन्ममिती एक प्रमाण भयो नै। अर्को प्रमाण उनीहरू दुवै भारतीय नागरिक रहेको र नेपाली नागरिकसँग विवाह गरेर नेपाली नागरिकता बनाएका थिए। उनीहरूले नागरिकता बनाउँदा श्रीमान् नेपाली नागरिक भएको आधारमा अङ्गीकृत बनाएका थिए। नागरिकतामा पहिला श्रीमानको नाम थियो। पछि बाबु भनेर सुखको नाम थपेका थिए।

सर्जमिनदेखि नागरिकताको प्रतिलिपि जारी गर्ने कामसम्म शङ्कास्पदै शङ्कास्पद देखिन्छ। यो सबै गतिविधि केवल सम्पत्ति हत्याउनका लागि मात्रै भएको हो भन्ने जन्ममितीका आधारमा देखिएको उमेरको फरकले पनि देखाउँछ नै।

यसरी सुरु भयो खेल

दुलारे मल्लाहका दुई सन्तान भए, जेठा फौदार मल्लाह र कान्छा सुखु मल्लाह। फौदारकातर्फबाट दुई सन्तान लालजित र सन्त मल्लाह भए।

सुखु मल्लाहको कुनै सन्तान भएनन्। उनको कालगतीले मृत्यु भएपछि अपुतालीको कानुन अनुसार काकाको सम्पत्ति दुवै दाजुभाइको नाममा आयो। अहिले काका सुखुसँगै काकी कवुतरी मल्लाहको पनि मृत्यु भइसकेको छ।

लालजित मल्लाहले अंशका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा गरे २०७८ कात्तिक १५ मा। तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले बुवा फौदार र काका सुखुको नाममा रहेको जमिन दुई भाइमा जाने फैसला गरिदिए।

त्यसपछि फौदार र सुखुबीच २०५६ भदौ २२ मा भएको अंशबन्डाको मुचुल्काका आधारमा दुवै दाजुभाइले काकाको अंश अपुताली बापत मिलेर लिए। फौदार र सुखुबीच अंशबन्डा हुँदाको मुचुल्कामा समेत सुखु र कवुतरी मल्लाहको सन्तान नभएको उल्लेख छ। त्यसैको आधारमा अदालतले सुखुको सम्पत्ति दाजुभाइबिच बाँडिदिएको देखिन्छ।

तर एकाएक सुखुको छोरी हौँ भन्दै रिखीदेवी अग्रवाल र मल्ती मल्लाहले अंश मुद्दा हाले। मुद्दा दिने रिखीले आफू सुखुको पहिलो श्रीमती कवुतरी र मल्तीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भएको दाबी गरेका थिए।

आपूतली हक कायम गर्दै अदालतबाट भएको फैसला।तर उनीहरू भारत बस्ती जिल्लाको मेहदावलका भारतीय नागरिक बदल मल्लाहको जेठी श्रीमतीबाट जन्मिएकी र रिखीदेवी बदलकी कान्छी श्रीमती मैनादेवी मल्लाहीनको छोरी रहेको दाबी आयो।

पहिला मल्ती र रिखीदेवीले ‘हामी सुखुको छोरीहरू हो भन्दै सिद्धार्थनगर नगरपालिका–६ मा सुखुको मृत्युदर्ता प्रमाण पत्र मागेका थिए। तर, वडा कार्यालयले दिएन।

त्यसपछि उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल कार्यालयमा सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को कार्यालय विरुद्ध मुद्दा दायर गरे। उनीहरूले अदालतमा सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न सकेनन्।

त्यसबेला अदालतमा मल्ती र रिखीदेवीले आफू मात्र सुखुको छोरी भएको दाबी गर्दै एक अर्का विरुद्ध समेत मुद्दा हालेका थिए।

तर, अदालतले मल्तीको जन्म र बुवा दाबी गरिएका सुखुको जन्म मिति जम्मा ६ वर्ष फरक देखिएको तथा रिखीदेवीको दाबी र प्रमाण झूटा भएको भन्दै तत्कालीन न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले २०७८ माघ ५ मा रिट निवेदन नै खारेज गरिदिए।

त्यसपछि रिखीदेवीले दुवै आमाको पालनपोषण, शेषपछि काजक्रिया गरेको र उनीहरूको अंश हक खाने एक मात्र हकवाल भएको भन्दै लालजित र सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन माग दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा २०७८ पुसमा मुद्दा दायर गरिन्। रुखुको नागरिकता अनुसार उनको जन्ममिती भने २०३९ साल हो।

मुद्दा चलेकै अवस्थामा उनीहरूले वडा नम्बर ६ का वडा सचिव विनोद कर्णमार्फत् सुखुको मृत्युदर्ता प्रमाण निकाले। प्रमाण पत्रमा छोरीको नाममा उनीहरूको नाम राखिएको थियो।

‘त्यसअघि नै हामीले काका सुखुको मृत्युदर्ता कसैलाई पनि नदिनु भनेर निवेदन दिएका थियौँ। तर वडा सचिव कर्णले आर्थिक प्रलोभनमा परेर नक्कली छोरीलाई हाम्रो काकाको छोरी भनेर मृत्युदर्ता दिए’ लालजितले उकेरासँग भने ।

यो बिचमा रिखीदेवीको दुई जनासँग विवाह भएको देखियो। पहिलो तत्कालीन कम्हरिया गाविस–६ का प्रशुराम मल्लाहसँग विवाह भएको थियो। पछि उनले प्रशुरामलाई छाडिन् र सिद्धार्थनगर–८ का राजेशकुमार अग्रवालसँग विवाह गरिन्।

रिखीदेवीको नागरिकतामा सुरुमा श्रीमानको नाम प्रशुराम छ भने अहिले राजेशकुमार अग्रवाल छ। दुवै पतिबाट नागरिकता बनाउँदा सुखु मल्लाहको नाम कतै उल्लेख थिएन।

तर प्रतिलिपि निकाल्दा श्रीमानको सनाखतमा बुवाको नाम सुखु मल्लाह राखेर नागरिकता निकालेको देखियो। यी दुई बाहेक उनीहरूकै दिदी नन्दनी मल्लाहको सिद्धार्थनगर ८ का मंगरु मल्लाहसँग विवाह भएको छ। नन्दनी ठुलीआमाको बुहारी हुन्। नन्दनीले वैवाहिक अङ्गीकृत नागरिकता लिएकी छन्। तर, रिखीदेवी र मल्तीले बुवाको नाम सुखु मल्लाह राखेर वंशजको आधारमा नागरिकता निकालेको देखिन्छ।

सन्तले काकाको मृत्यु अगाडिसम्म उनीहरूले अंश दाबी पनि नगरेको र दुवैको पालनपोषण समेत नगरेको बताए। जब काका र काकी दुवैको मृत्यु भयो अनि सम्पत्ति हत्याउन प्रशासनसँग मिलेर नक्कली प्रमाणको आधारमा कागजपत्र बनाएको उनले दाबी गरे। उकेराले प्राप्त गरेका प्रमाणहरूले पनि त्यस्तै देखाउँछ।

यी दुवै महिलाको नागरिकताबारे अदालतले जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्रको जवाफमा ढड्डामा विवरण रहेको तर उनीहरूले नागरिकता लिँदा पेस गरेको कागजपत्र भने फेला नपरेको भन्दै अदालतमा जवाफ पठाएका थिए।

नागरिकता नै शङ्कास्पद

यी दुवैको नागरिकता शङ्कास्पद हो भन्ने पहिलो आधार त सुख र मल्तीको नागरिकतामा उल्लेख जन्ममिती नै हो। यदि मल्ती सुखको छोरी स्वीकार गर्ने हो भने उनले पाँच वर्षको उमेरमा विवाह गरेपछि उनी जन्मिएको देखिन्छ। रिखीदेवीको नागरिकता पनि शङ्कास्पद देखिन्छ। नागरिकतामा बाबुको नाम सुख हुनु बाहेक उनी छोरी भएको थप कुनै प्रमाण छैन।

यी दुवैको नागरिकतामाथि छानबिन गर्न पीडित पक्षले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन पनि दिएका छन्। तर प्रशासनले त्यता चासै दिएको देखिएन।

जिल्ला प्रशासनबाट जारी नागरिकता र नागरिकता लिँदा पेश गरेको कागजपत्र फेला नपरेको भन्दै जिप्रकाले पठाएको पत्र।अनुसन्धानका लागि भनेर उनीहरूको नागरिकता जिल्ला प्रशासन कार्यालयले राखेको सम्म खुल्यो। तर, सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँ र मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष मोहम्मद रफिक खाँन रोहबरमा बसेर २०८० साउन ५ मा रिखीदेवी र मल्तीको नागरिकता फिर्ता लगियो।

नागरिकता फिर्ता दिँदा रिखीदेवीको साक्षी नगर प्रमुख खाँ र मल्तीको साक्षी मोहम्मद रफिक बसेका थिए।

जिल्ला प्रशासनमा उजुरी परेपछि उनीहरूबारे प्रशासनले सर्जमिन समेत गरेको देखियो। तर सर्जमिन वडा नम्बर ६ मा गर्नुपर्नेमा वडा नम्बर ८ मा सर्जमिन गरेको देखियो।

अदालतदेखि प्रशासनसम्मको शङ्कास्पद काम

यो प्रकरणमा अदालतको फैसला त भयो नै, सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहम्मद खाँ, वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणा, तत्कालीन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिद्धार्थनगर वडा नम्बर ६ का सचिव विनोद कर्णलगायत प्रहरीको भूमिमा समेत शङ्कास्पद देखियो।

पीडित पक्ष यी सबैको मिलेमतोमा नगरपालिकाको कार्यालयमा बसेर सर्जमिन गरिएको र सर्जमिनमा रिखीदेवी र मल्ती सुखु मल्लाहको छोरी हो भनेर झुटो प्रमाण बनाएको दाबी गर्छन्। दाबीमा आधार पनि देखिन्छ।

रिखीदेवीको नागरिकताबारे सर्जमिन भयो। तर मल्तीको नागरिकताबारे अझैँ सर्जमिन भएको छैन। त्यति मात्र होइन रिखीदेवीको आमाबारे खोजविन गरियो। तर मल्तीले अर्की आमा फुलजोडीकी छोरी भनेकी थिइन्। त्यसबारे समेत प्रशासनले कुनै छानबिन गरेन।

‘हाम्रो काका र मल्तीको उमेर जम्मा ६ वर्षको फरक छ। ६ वर्षमै सन्तान जन्मिएको अदालतले कसरी प्रमाणित गर्यो ? प्रशासनले किन छानबिन नगरी कागजात लुकायो?’ सन्तले प्रश्न गरे।

दुई भाइ काकाको मृत्युपछि पाएको अपुतालीको धनीपूर्जा देखाउँदै लालजित र सन्त। २०५४ सालमा रुपन्देही जिल्ला अदालतले गरेको फैसला पनि पेस गरेका थिए जसमा त्यतिबेला फौदार र सुखु दुई भाइबीच अंश मुद्दा चल्दा सुखुको छोराछोरी कोही नभएको र शेषपछि सम्पूर्ण सम्पत्ति आफ्नै हुने भन्दै फौदारले अदालतमा बयान दिएका थिए।

बयानमा सुखुले आफ्ना छोराछोरी भएको उल्लेख गरेका छैनन्। उनले छोराछोरी नभएको स्वीकार गरेका छन्।

नयाँ सिडिओ आएपछि पुन सजर्मिन

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमा गणेश अर्याल आएपछि दुवै दाजुभाइले सबै जानकारी गराएपछि अहिले पुन सर्जमिन सुरु गरियो

 ‘उहाँ रुपन्देही आएपछि सबै कागजपत्र देखायौ । त्यसपछि हामीले तामेली जगाउन भन्दै पुनः २०८० साउन १५ मा निवेदन दियौ। अहिले अनुसन्धान अघि बढेको छ’ सन्तले भने।

प्रहरी मार्फत सम्बन्धित वडा सिद्धार्थनगर नगरपालिका–६ मा गएर सर्जमिन गर्दा सुखु मल्लाहको कुनै सन्तान नभएको नै खुल्यो। रिखीदेवी र मल्ती भारतीय नागरिक बदल मल्लाहको छोरी भएको दाबी आए।

वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रकुमार श्रीवास्तव, प्राध्यापक डा.शंकरप्रसाद नेपाल लगायत, स्थानीय, प्रहरीको रोहवरमा सर्जमिन भएको देखिन्छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले अहिले रिखीदेवी र मल्तीविरुद्ध अर्को निवेदन लिएर उनीहरूको नागरिकताबारे अनुसन्धान सुरु गरेको उकेरासँग बताए।

मल्लाह दाजुभाइले पनि जिल्लाको फैसला विरुद्ध उच्च अदालत बुटवलमा पुनरावेदन दिएका छन्।

आरोपित भन्छन्' बल्ल सत्य थाहा पाएँ'

दिवङ्गत निसन्तान दम्पतीको अंशका लागि ‘नक्कली छोरी’ बनेर दुई महिलाले सम्पत्ति हत्याउन गर्न खोजेको प्रकरणमा सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँले आफ्नो संलग्नता नरहेको दाबी गरे।

‘जनप्रतिनिधि भएको नाताले छानबिन जारी रहेको नागरिकता पछि छानबिनबाट जे ठहर्छ, त्यही अनुरूप कारबाही गर्ने गरी तत्कालका लागि सम्बन्धित व्यक्तिलाई दिने भनेर सिफारिस गरेको हुँ’, नगर प्रमुख खाँले भने, ‘तर, ती नागरिकता छानबिन नै नगर्ने गरी कुनै पनि भनसुन र सिफारिस गरिएको होइन।’

रुपन्देहीको मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष मोहम्मद रफिक खाँ नले आफ्नो वडाका बासिन्दा मल्ती मल्लाहिन र सिद्धार्थनगर नगरपालिका–८ की बासिन्दा रिखीदेवी अग्रवालले बनाएको नागरिकताबारे आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।

उनले रिखीदेवीलाई आफूले नचिन्ने र मल्ती आफ्नो वडाको बासिन्दा भएकाले जिल्ला प्रशासनले बोलाएपछि रोहबर बसेर नागरिकता फिर्ता लैजान सहयोग मात्रै गरेको बताए। यसबारे कुरा गर्न रिखीदेवी र मल्तीसँग सम्पर्क हुन सकेन।

सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले मल्ती मल्लाहिन र रिखीदेवी अग्रवालको वास्तविकताबारे आफूले बल्ल जानकारी पाएको दाबी गर्दै उनीहरू सुखुको छोरी नभएको जानकारी आएको बताए।

वडाध्यक्ष राणाले आफूले प्रहरीले ल्याएको सर्जमिनमा हस्ताक्षर गरेको समेत बताए।

‘वंशजको नागरिकता थियो, प्रमाण पुगेर आएको थियो’, उनले भने, ‘त्यसपछि हस्ताक्षर गरेको हुँ। तर वडामा सर्जमिन पनि भएको होइन। नगरपालिकामा गएर मैले हस्ताक्षर गरेको पनि छैन’ उनले दाबी गरे।

भदौ ७, २०८१ शनिबार २३:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।