भारतमा पहिरोमा परी मृत्यु भएका तीन युवाको शव नेपाल ल्याइँदै

भारतमा पहिरोमा परी मृत्यु भएका तीन युवाको शव नेपाल ल्याइँदै

काठमाडौं : भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ। शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताए। 

नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ। शव बोकेको एम्बुलेन्स बाटोमा छ। 

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो। उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नम्बर १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नम्बर ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो।

पहिरोमा परी नगरवासीको मृत्यु भएको थाहा पाएपछि मृतकका परिवारलाई भेट्न गएको नगरप्रमुख महतो बताए। 

मृतक तीन जनाको परिवारको आर्थिक स्थिति कमजोर रहेको भन्दै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए। 
 
परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाहसंस्कार गरिने बताइएको छ। 

पेट्रोलपम्प र बाटो निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए।  

भदौ ७, २०८१ शनिबार २१:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।