बाढीले विस्थापित भएका तीन लाख बङ्गलादेशी नागरिक आपतकालीन आश्रय स्थलमा शरण लिँदै

बाढीले विस्थापित भएका तीन लाख बङ्गलादेशी नागरिक आपतकालीन आश्रय स्थलमा शरण लिँदै

एजेन्सी : भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेका छन्।  

भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारीहरूले बताए।  

आफ्नो घर पूर्ण रूपमा डुबानमा परेकाले आश्रय स्थलमा बस्नु परेको भारतको त्रिपुरा राज्यको सीमा नजिकैको सबैभन्दा बढी प्रभावित जिल्लाका बासिन्दा लुफ्टन नाहरले फेनीको राहत आश्रय स्थलबाट बताए। 

सयौँ नदीहरूले घेरिएको बङ्गलादेशमा पछिल्लो समय बारम्बार बाढीले जनजीवन प्रभावित पारिरहेको छ।

बाढीका कारण राजधानी ढाकालगायत मुख्य बन्दरगाह सहर र चटगाँवबीचको राजमार्ग तथा रेलवेहरू क्षतिग्रस्त हुँदा बाढी प्रभावित जिल्लामा पुग्न गाह्रो भएको छ भने व्यापारिक गतिविधिमा पनि बाधा पुगेको छ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कोक्स बजार हो, जहाँ छिमेकी म्यानमाका करिब दश लाख रोहिंग्या शरणार्थीहरूको बसोबास रहेको छ।

विपद् व्यवस्थापन मन्त्रालयका सचिव मोहम्मद कामरुलका अनुसार बङ्लादेशमा बाढीका करण थप १८ जनाको मृत्यु भएको छ। 

उनले बाढीका कारण ४५ लाख मानिसको जनजीवन प्रभावित भएको र तीमध्ये दुई लाख ८५ हजार मानिसहरू आपतकालीन आश्रयमा बसिरहेको बताए।  

भदौ ७, २०८१ शनिबार २०:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।