राति ढोकाबाट घरभित्र पसेको सर्पले ३ जनालाई टोक्यो, २ बालिकाको मृत्यु, सँगै सुतेकी हजुरआमाको उपचार हुँदै

राति ढोकाबाट घरभित्र पसेको सर्पले ३ जनालाई टोक्यो, २ बालिकाको मृत्यु, सँगै सुतेकी हजुरआमाको उपचार हुँदै

काठमाडौं : कैलालीको गौरीगङ्गा नगरपालिका-७ महुलिया गाउँमा गएराति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ। सर्पको टोकाइबाट घाइते भएकी बालिकाकी हजुरआमा ७२ वर्षीया रिजु घर्तीमगरको उपचार भइरहेको छ। 

मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत सर्पको टोकाईबाट स्थानीय पाँच वर्षीय बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिए। 

करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई/तीन ठाउँमा टोकेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा टोकेको थियो। शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उनको हातमासमेत डसेको घटनास्थल पुगेका डगौरा थारूले बताए। 

'सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते हुनुभएकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो', वडाध्यक्ष डगौरा थारूले भने, 'पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो।'

घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ। 

मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए। बालिकाको बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्ला बाहिर रहेको बताइएको छ। 
  
सर्पले डसेपछि घरमै झारफुक गराउने र अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने कतिपय समुदायको प्रवृत्तिले सर्पको टोकाइका बिरामीको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउँछन्।

अस्पतालमा सर्पको टोकाइका बिरामीको निःशुल्क उपचार हुने गरेको छ। 

भदौ ७, २०८१ शनिबार २०:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।