सबै माओवादी घटकहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ : प्रचण्ड

सबै माओवादी घटकहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने दाबी गरेका छन्। 

नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी, समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको बताए। उनले यसको परिणाम छिट्टै आउने दाबीसमेत गरे। 

अध्यक्ष दाहालले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने बताए। 

उनले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

'हामी सबैले सार्थक प्रयास गरेमा माओवादीमा जनमत फेरि फर्काउन सकिने विश्वास छ। केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु,' उनले भने। 

उनले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरू त्यसलाई थप समृद्ध बनाइने बताए।

भदौ ७, २०८१ शनिबार १९:४१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।