तालिबानमा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध, नियम उल्लंघन गरे ३ दिन हिरासतमा!

तालिबानमा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध, नियम उल्लंघन गरे ३ दिन हिरासतमा!

एजेन्सी : तालिबान सरकारले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागु गरेको ग्लोबल न्यूजले जनाएको छ। यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ। 

अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको 'सद्गुणको प्रचार र दुराचारको रोकथाम' मन्त्रालयले बुधबार नयाँ कानुन जारी गरेको हो। 

एक सय १४ पृष्ठको कानुनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ। 

मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले भने, 'हामी आश्वासन दिन्छौं कि यो इस्लामिक कानूनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ।'

दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनु पर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ।

महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानुनले जनाएको छ। महिलाहरूले सामान्यतया लगाउने हिजाब जसले कपाल र घाँटी मात्र ढाक्छ अब नयाँ कानुनअनुसार स्वीकार्य नभएको ग्लोबल न्यूजले जनाएको छ।  

महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानुनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ। 

महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानुनले गरेको छ।

यी नियमहरू उल्लङ्घन गर्दा सजायस्वरुप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ। मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लङ्घनका लागि हजारौंलाई हिरासतमा लिएको छ। 

ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमबारे भने, 'यी नियमहरू पहिले नै थिए तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ। मलाई लाग्छ यो हामीले विगत तीन वर्षदेखि देखिरहेका कुराको सङ्केत हो, दमनको क्रमिक वृद्धि हो।'

तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउँदै आएको छ। सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौँ कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो।

त्यसैगरी सन् २०२२ मा तालिबानले महिलालाई गैरसरकारी संस्था (एनजिओ)मा काम गर्न प्रतिबन्ध लगाएको थियो। ग्लोबल न्यूजसँग कुरा गर्ने एक महिलाले एनजिओमा जागिर गुमाएपछि आफ्नो परिवार गरिबीमा डुबेको बताइन्। 

'म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ। हामी परिवारमा चार जना मात्रै छौँ, म, मेरी बहिनी र मेरा आमाबाबु। मेरो बुबा अहिले बिरामी हुनुहुन्छ। हामीलाई बिहान बेलुका खान पनि समस्या छ', उनले भनिन्। 

महिलामाथि लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित भएको कानुनले सङ्गीत बजाउन पनि निषेध गरेको छ। यसले पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ। यस कानुनले चालकहरूलाई पुरुष अभिभावकबिना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ।

गत महिना संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको सङ्केत गरेको थियो। 

तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गरेको छ। 

भदौ ७, २०८१ शनिबार १९:१८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।