भैँसीको नस्ल सुधार्न मुर्रा राँगाको वीर्य बाँड्न थालियो

भैँसीको नस्ल सुधार्न मुर्रा राँगाको वीर्य बाँड्न थालियो

कास्की : भैँसीमा उन्नत जातको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी वितरण सुरु भएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहारमा दिएको राँगामध्ये सात वटा पोखरास्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा ल्याइएको थियो।    

कार्यालयमा रहेकामध्ये एउटाबाट वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको कार्यालयका प्रमुख पशु विकास अधिकृत डा जगदीश पाण्डेले जानकारी दिए।

बाँकी राँगाबाट वीर्य सङ्कलनका लागि सिकाइको चरणमा रहेको र अबको दुई देखि तीन महिनामा सबैबाट वीर्य सङ्कलन हुने उनले बताए।

प्रमुख पशु विकास अधिकृत पाण्डेका अनुसार क्वारेनटिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन सङ्कलन र गुणस्तर परीक्षणपछि वितरणको काम हुन्छ। अहिले एउटाबाट सङ्कलन भएको तीनदेखि पाँच हजार डोज वितरण भएको उनले बताए।

कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखि ३० हजार डोज वीर्य उत्पादन हुनेछ। हप्तामा सोमबार र बिहीबार वीर्य सङ्कलन हुँदै आएको छ। एक हप्तामा एउटाबाट चार सय डोज जति सङ्कलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताए।

‘हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेनटिन राख्यौँ। कतिपयको उमेर पुग्न बाँकी थियो। उमेर पुगेपछि बल्ल सङ्कलन गछौँ’ डा गौतमले भने, ‘सङ्कलन गर्ने बित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठिक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नस्ल सुधार गरिन्छ।’

कार्यालयले सङ्कलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलब्ध गराउँदै आएको छ।    

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा गौतमले बताए।

कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरूप नेपालको अनुरोधमा भारतले राँगा उपलब्ध गराएको थियो। भैँसीमा पहिलो पटक उन्नत जातको नस्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो।

पशु चिकित्सकका अनुसार उच्च नस्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन्। नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन नेपालगन्जमा राखिएको छ।

-रासस

भदौ ७, २०८१ शनिबार १९:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।