नेपालको दुर्घटनाका घाइते नागरिकको निरीक्षण र मृतकको शव लिन भारतले पठायो राज्यमन्त्री खड्सेलाई

नेपालको दुर्घटनाका घाइते नागरिकको निरीक्षण र मृतकको शव लिन भारतले पठायो राज्यमन्त्री खड्सेलाई

काठमाडौँ : नेपाल घुम्न आएका भारतीय नागरिकको बस दुर्घटनामा परेर २७ भारतीय नागरिकको ज्यान गएपछि उपचाररत नागरिकको अवलोकन र मृतकको शव लैजान भारतले युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई नेपाल पठायो।

शव लैजान सैनिक विमान र सहयोगी टोलीसहित नेपाल आएकी खड्सेले अस्पतालमा उपचाररत भारतीय नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। शिक्षण अस्पताल महाराजगन्जमा घाइतेमध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रवार यात्रुवाहक बस युपी ५३ एफटी ७६२३ सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

उनले शनिवारै सिंहदरबारमा गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका अधिकृतबाट दुर्घटनासम्बन्धी जानकारी लिएकी थिइन्।

शिक्षण अस्पतालमा घाइतेसँग कुराकानी गर्दै।मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा गृहमन्त्री लेखकले घटना दुखद भएको बताउँदै घाइतेहरूको उपचारका कुनै कसर बाँकी नराख्ने बताए। घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्धारमा खटिएको उनले जानकारी दिएकी थिइन्।

खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति धन्यवाद दिएकी थिइन्। उनले घाइतेहरूको उपचारमा चिकित्सकहरूले देखाएको सक्रियताको प्रशंसा गरेकी थिइन्।

‘दुर्घटनामा मेरै आफन्तको पनि मृत्यु भएको छ’ उनले भनिन् ‘उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद।’

काठमाडौँपछि उनी चितवन गएकी थिइन्। चितवनमा मृतकको शवहरू राखिएको थियो। शव काठमाडौँ ल्याएर भारतीय विमानबाट भारत लगियो। दुई वटा शव भने स्थलमार्गबाट भारत लगियो। 

भदौ ७, २०८१ शनिबार १८:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।