'अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुईतिहाईवालाका कारण होइन'

'अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुईतिहाईवालाका कारण होइन'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरूको सरकार भएको बताएका छन्। 

शनिबार पार्टीको नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै उनले सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरू भएको बताए। 

उनले भने, ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरू सरकार हटाउनतर्फ लागे। बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन्।’ 

उनले पछिल्लोपटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेकोे भन्दै भ्रष्टाचारलाई निर्मूल नगरेसम्म समृद्धि संभव नभएको बताए।  

उनले भने, ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिँदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारवाही अभियान सुरू गरिएको हो।’ 

चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फीरुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी आफ्नो कार्यकालमा गरिएको उनको दाबी छ। 

उनले भने, ‘सरकारबाट बाहिरिदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौं बरू कयौं काण्डका फाइलहरू खोलेर फर्केका छौं। यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं।’ 

जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको पनि उनको भनाई छ। 

उनले भने, ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुई तिहाईवालाका कारण होइन, अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे! हिजो प्रतिगमनहुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनर्स्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौं, जान्छौं।’

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताए। 

जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफू देशब्यापी अभियानमा निस्कन थालेको बताए। 

उनले भने, ‘जनयुद्ध दिवसलाई राष्ट्रिय विदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौं। चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं।’

भदौ ८, २०८१ शनिबार १८:५२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।