निरीक्षण र अवलोकनमै व्यस्त छन् उद्योगमन्त्री भण्डारी, दिनमै ३ वटासम्म निरीक्षण गर्छन्

निरीक्षण र अवलोकनमै व्यस्त छन् उद्योगमन्त्री भण्डारी, दिनमै ३ वटासम्म निरीक्षण गर्छन्

काठमाडौं : शनिबार  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरे। बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदिको निरीक्षण गर्दै उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिए।

पछिल्लो पटक कांग्रेस-एमाले गठबन्धन सरकारमा एमालेबाट उद्योगमन्त्री बनेका भण्डारी निरीक्षण र अवलोकनमै व्यस्त छन्। मन्त्री बनेयता उनले थुप्रै उद्योगको निरीक्षण गरे। तर, त्यसको ठोस परिमाण भने देखिएको छैन। 

मन्त्री नियुक्त भएपछि मन्त्री गत साउन २३ गते भण्डारीले बिमिस्टेक सम्मेलनलाई सम्बोधन गरेसँगै कोलकातास्थित महावाणिज्यदूतावासको निरीक्षण गरे। त्यसक्रममा उनले दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।

गएको शनिबार त उनले एकैदिन ३ वटा उद्योगको निरीक्षण गरे। 

सुरुमा हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण गरे। त्यसक्रममा उनले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको समस्याका बारेमा सरकार अवगत रहेको भन्दै दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताए। 

त्यसपछि उनले हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गरे। कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए।

हेटौंडा कपडा उद्योगको निरीक्षणपछि उनले हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि अवलोकन गरे। 

अवलोकनपछि मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने बताए।  

भदौ ७, २०८१ शनिबार १८:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।