दशौंं राष्ट्रिय खेलकुद प्रतियोगिता : बन्द प्रशिक्षणमा रहेका कर्णालीका खेलाडीले भत्ता पाएनन्
सुर्खेत : आगामी मंसिर २ देखि ९ सम्म सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूले भत्ता नपाएको गुनासो गरेका छन्।
प्रदेश खेलकुद परिषद्का अनुसार कर्णालीमा प्रतियोगिताको तयारीका लागि विभिन्न विधाका ३ सय ४८ जना खेलाडी बन्द प्रशिक्षणमा छन्। जसमा २ सय १० जना खेलाडी पहिलो चरणमा र बाँकी दोस्रो चरणको बन्द प्रशिक्षणमा छन्।
तर, वैशाखदेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूले प्रदेश सरकार र खेलकुद परिषद्ले तोकेको भत्ता नपाएको गुनासो गरे। ०८० फागुनमा खेलकुद परिषद्ले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो।
भत्ताको विषय निर्णयमा मात्रै सीमित हुँदा आफुहरु समस्यामा परेको तेक्वान्दोको बन्द प्रशिक्षणमा रहेका दिनेश बहादुर मगर गुनासो गरे।
‘बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पोषणलगायत समस्या त छँदैछ। त्यसमाथि पनि पाँच हजार दिने भनेको सुविधा नपाउँदा झनै समस्या परेका छ,’ उनले भने, ‘सम्बन्धित पक्षलाई किन भत्ता दिइएन? भनेर सोध्दा बजेट आएको छैन भनेर जवाफ आउँछ।’
असारदेखि बन्द प्रशिक्षणमा बसेपनि आफूले खेलकुद परिषद्बाट भत्ता नपाएपछि घरबाटै खर्च मगाएर बन्द प्रशिक्षणमा तयारी गरिरहेको जुम्लाका नरेन्द्र रावतले बताए।
‘खान बस्न त परिषद्ले नै व्यवस्था गरेको छ। तरपनि हामीलाई अन्य खर्च चाहिन्छ। त्यसको लागि आउने ठाउँबाट पनि आउँदैन, अनि घरबाट मगाएर काम चलाउनुपर्ने बाध्यता छ।’
कराँतेको लागि बन्द प्रशिक्षणमा रहेका सुर्खेतका मिसन रास्कोटी मगरले बाहिरबाट आएकालाई होटेलमा बास बस्ने व्यवस्था भएपनि आफुहरु बिहान एक छाक होटेलमा खाएर साँझ घर फर्कने गरेको बताए।
‘अन्य जिल्लाबाट आउनेहरू होटेलमा बसेका छन्। हामी यही सुर्खेतका भएकोले बिहानको खाना होटेलमा खान्छौं। दिनभर प्रशिक्षण लिएर घर जान्छौं,’ उनले भने, ‘हालसम्म पनि भत्ता पाएका छैनौं। अहिले हाजिर मात्रै लगाउने काम भएको छ।’
सुर्खेतका अर्का खेलाडी प्रेमबहादुर विकले भत्तासँगै विभिन्न कारणले प्रशिक्षणमा समेत निरन्तरता नभएको बताए।
यता, कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र संज्यालले परिषद्को निर्णय अनुसार असार महिनासम्म दिएको र त्यसपछिका महिनाको दिन नसकिएको स्वीकार गरे।
‘पहिलो चरणमा वैशाखदेखि नै बन्द प्रशिक्षणमा खेलाडी छन्। असारसम्मको सबै रकम दिइसकेका छौं’, उनले भने, ‘असारपछिको रकम दिन बाँकी छ। नयाँ खातापाताका कारण पाउन दिन सकिएको छैन। हामी छिटोभन्दा छिटो खेलाडीलाई बाँकी रहेको भत्ता दिनेछौं।’
खेलकुद परिषद्ले साउन २६ देखि दशौंं राष्ट्रिय खेलकुदका लागि १०० दिने ‘काउन्टडाउन’ सुरू गरिसकेको छ। तर, भदौ ४ मा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको सुर्खेत भ्रमणपछि तोकिएको मितिमा खेलकुद हुने सम्भावना कम देखिएको छ।
रंगशालाको १० प्रतिशत काम हुन अझै बाँकी छ। प्रदेशले गरिरहेको तयारीको जानकारी लिन सुर्खेत पुगेका मन्त्री चौधरीले १५ दिनको कार्ययोजना र कार्यतालिकाको कार्य प्रगतिअनुसार प्रतियोगिताको मिति तय गर्ने निर्देशन दिएसँगै तोकिएको समयमा खेलकुद हुनेमा आशंका गरिएको छ।
तर, खेलकुद परिषद्का सदस्यसचिव सञ्ज्यालले ताेकिएकै मितमा प्रतियोगिता हुनेगरी तयारी तिब्र पारिएको बताए।
‘९० प्रतिशत रंगशालाको काम सकिएकाे छ। बाँकी १० प्रतिशत पनि समयमै सम्पन्न गर्नका लागि काम गरिरहेका छाैं’, उनले भने, ‘ताेकिएको समयमा खेलकुद प्रतियोगिता हुन्छ।’
२ अंकको स्वर्ण पदकको लक्ष्य राखेर सम्भावित खेलाडीलाई वैशाखदेखि नै बन्द प्रशिक्षणमा राखिएको सचिव सञ्ज्यालले बताए। त्यस्तै, स्वर्ण पदक ल्याउने खेलाडीलाई तीन लाख रुपैयाँ प्रदेश सरकारले पुरस्कार दिने तयारीसमेत गरिएको उनले बताए।
जुम्ला, कालिकोट, दैलेख, सल्यान, रुकमपश्चिम, हुम्ला र सुर्खेतका विभिन्न स्थानमा २४ वटा खेलकाे प्रतियोगिता गर्नेगरी तयारी थालिएको छ।
खेलाडी, अफिसियल, आयोजक र समारोहमा सहभागी हुने विशिष्ट अतिथि, अतिथि लगायत करिब आठ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ।
भदौ ८, २०८१ शनिबार १७:४१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।