रविको झुटको साम्राज्य : ग्यालेक्सी खोल्ने चरणमै जीवीको बदमासी खुल्दा जोगाउन लागे, अहिले भन्दैछन् ‘थाहै पाइन’
काठमाडौँ : शनिवार भरतपुर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडियासँग आफू संलग्न हुनुअघि जीवी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी भएको स्विकारे।
शुक्रवार सहकारीका बचतकर्ताको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय समितिको बैठकमा बयान दिँदै उनले दोस्रो पटक अर्थात् २०८० मंसिर १० अगाडि जीवी राईको बदमासीबारे जानकारी नै नभएको दाबी गरेका थिए। जबकि रवि जीवीसँग २०७८ अगाडिबाटै जोडिएका थिए।
८ बढी सहकारीमा रहेको बचतकर्ताको अर्बौँ रकम दुरुपयोग गरेको अनि ती सहकारीबाट रवि प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनमा मात्र ८० करोड बढी रकम गएको खुलेपछि रवि समेत छानबिनको दायरामा तानिए।
जीवीसँगको सम्बन्धबाट उम्किन कुनै उपाय नदेखिएपछि रविले ‘आफू दैनिक सामान्य प्रशासनसनिकसँगै कार्यक्रम उत्पादनको जिम्मेवारीमा रहेकाले लगानी कहाँबाट आएको जीवीलाई जानकारी भएको र उनको बदमासी २०८० वैशाख १० को संसदीय उप निर्वाचनमा पून: जितेपछि मात्रै जानकारी पाएको’ दावीी गरे।
तर सार्वजनिक विवरणहरूले नै रविले बोलेको झुट प्रमाणित हुन्छ। जीवी नेटवर्किङ शैलीको अवैध कारोबार र सहकारी ठगीमा संलग्न रहेको विवरण रविले ग्यालेक्सी छाडेपछि हैन ग्यालेक्सी टेलिभिजन औपचारिक रूपमा सुरु नहुँदा नै सार्वजनिक भएको थियो।
जीवी सहकारी ठगीमा संलग्न रहेको विवरण त रवि पहिलो पटक सांसद बनेर सर्वोच्चबाट पद खारेज हुनु अगाडि नै सार्वजनिक भएको थियो। सुप्रिम सहकारी ठगीमा जीवीको संलग्नताबारे उकेराले २०७९ मंसिर १७ मै सार्वजनिक गरेको थियो जसमा दीपेश पुुन पनि जोडिएका थिए।
समाचार प्रकाशित भएपछि उकेराको सिएमएसमा अनधिकृत प्रवेश गरेेर समाचारै उडाइएको थियो।
OOO
जीवीबारे सहकारी ठगिमाा संलग्न रहेको औपचारिक जाहेरी २०८० भदौमा दायर भएको हो। तर उनको बदमासी २०७४ देखि नै सार्वजनिक भइरहेका थिए।
ग्यालेक्सी टिभी शुरु हुनु अगाडि सेतोपाटीमा नेचर्स हर्ब्ससको नाममा जीवीले गरेका बदमासी श्रृंखलावद्ध छापिदा रवि बाहिर मौन देेखिए।आन्तरिक रुपमा भनेे टेलिभिजन आउन लागेपछि बदनामको प्रयास गरेको ब्रिफिङ गरे।
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर रविले भव्य कार्यक्रमकाबीच ग्यालेक्सी फोरके टेलिभिजनको प्रसारण सुरु गरे २०७८ असोज १६।
नेपालमा प्राय सबै क्षेत्रका सेलिब्रिटीहरु जम्मा पारेर प्रसारण शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए।
टेलिभिजन प्रसारण सुरु भएको कार्यक्रममा टेलिभिजनका अध्यक्ष जीवी राईले उच्चतम प्रविधि र दक्ष जनशक्तिको बलमा नागरिकलाई सही सूचना र मर्यादित मनोरञ्जन दिन स्पष्ट सोच र योजनासहित टेलिभिजन सुरु गरेको दाबी गरेका थिए। तर उनीहरुको स्पष्ट सोच एकै वर्षमा धुलो भयो। टेलिभिजन बन्द भयो।
OOO
न्युज२४ टेलिभिजनमा ‘सिधाकुरा’ कार्यक्रम चलाउँदा चलाउँदै उनी आफैँ प्रबन्ध निर्देशक भएर ग्यालेक्सी फोरके टेलिभिजनको प्रसारण सुरु गरेका थिए। गोर्खा मिडिया प्रालि माउ संस्था रहेको टेलिभिजनको अध्यक्ष थिए गीतेन्द्र बाबु उर्फ जीवी राई। तर उनी पृष्ठभूमिमा थिएनन्। हर्ताकर्ता थिए रवि। टेलिभिजनको ब्राण्डिङ नै रविको टेलिभिजनको रूपमा भएको थियो।
उता जीवी एपीवान, नागरिकखवरडटकमहुँदै ग्यालेक्सी टेलिभिजन खोल्न आइपुगेका थिए। उपाध्यक्ष नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी थिए।
प्रहरी सङ्गठनमा कार्यरत रहँदा नै भ्रष्ट छवि रहेका छविलालकै प्रयासमा जीवी-रविको मिलन भएर ग्यालेक्सी टिभीसम्मको योजना बनेको जानकारहरू दाबी गर्छन्।
ग्यालेक्सी टिभी खोल्ने रणनीतिकै चरणमा संलग्न स्रोतका अनुसार जस्तोसुकै अवस्थामा पनि पाँच वर्ष सहकार्य नतोड्ने सर्तमा जीवी टेलिभिजनमा लगानी गर्न सहमत भएका थिए।
लगानीको मोडालिटीमा ‘एक पैसा विज्ञापन नआए पनि पाँच वर्ष सहकार्य गर्ने र त्यसमध्ये तीन वर्षको सञ्चालन खर्च जीवीको र दुई वर्षको सञ्चालन खर्चको जिम्मा रविको हुने’ भद्र सहमति भएको थियो। तर जीवीले तीन वर्षमा जति खर्च हुने अनुमान गरेका थिए त्यो रकम प्रारम्भिक चरणमै सकियो।
टेलिभिजनमा आर्थिक अभाव सुरु हुने सङ्केत देखिएपछि रवि राजनीतिमा संलग्न हुने रणनीतिमा लागे। प्रारम्भमा स्थानीय तहकै निर्वाचनमा सहभागी हुनेबारे छलफल चले पनि हिम्मत गरेनन्।
जब स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाह लगायतको सानदार जीत भयो अनि उनी राजनीतिमा जाने तयारीमा जुटे।
प्रारम्भमा रवि नेपाली कांग्रेसबाट राजनीतिमा संलग्न हुने रणनीतिमा थिए। त्यसका लागि कांग्रेस महामन्त्री गगन थापासँग निकै चरणमा छलफल पनि भयो। काठमाडौँ क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्ने लगभग सहमति भइसकेको थियो।
रविलाई केन्द्रीय सदस्यको रूपमा पार्टीमा संलग्न गराउने तयारी भइरहेकै समयमा उनले आफू निकट दीपक बोहोरा लगायतका लागि समेत केन्द्रीय समितिमा पद माग्न थाले। रविका हकमा सकारात्मक भए पनि अन्य जसको परिचय रविका सहयोगी मात्रै छ उनीहरूलाई केन्द्रमा लैजान सम्भव नभएपछि रवि आफ्नै दल बनाउनतिर लागे र २०७९ असार ६ मा रास्वपाको घोषणा गरे।
OOO
युनिटी लाइफ इन्टरनेशनलको नाममा नेपालमा अवैध पिरामिड शैलीमा प्रत्यक्ष वस्तुको विक्री गर्ने, सर्वसाधारणलाई सदस्य बनाएर रकम उठाउने, बैङ्किङ कारोबारको अनुमति नलिई बैङ्किङ गतिविधि गर्ने गरेको खुलासासँगै सञ्चालकहरूमाथि कारबाही सुरु भयो।
युनिटी ढलेपछि त्यसको प्रभाव हर्बोमा पनि पर्ने नै भयो। हर्बोको गतिविधि पनि सुक्यो। २०६४ कात्तिक नौ मा सरकारले पिरामिड शैलीको व्यवसायलाई गैर कानुनी बनाउन कानुनै जारी गर्यो।
त्यो बेलामा हर्बोमा थिए पुष्पराज पुरुष, कुमार रम्तेल अनि जीवी राई। जीवीले हर्बो कब्जा गरे। पुष्पराज हर्बो जीवी र कुमार रम्तेललाई जिम्मा लगाएर राजनीतितिर लागे। अदालतमा परेको मुद्ददा हर्बोले जित्यो। कुमार र जीवी मिलेर तीन लाख ग्राहकको विवरण भएको सफ्टवेयरसँगै ३० करोड रकम 'कब्जा गरेे'।
२०६५ तिर जीवी पोखरामा शुर्यदर्शन सहकारी खोलेर सहकारीमा समेत संलग्न भए। बिस्तारै उनले सहकारीको सङ्ख्या बढाउँदै ‘सहकारी अभियन्ता’ जस्तै भए।
युनिटी र हर्बो डुबे पनि नयाँ नयाँ आवरणमा पिरामिड शैलीको धन्दा जारी नै थियो। त्यसमा जीवी अलग भएका थिएनन्। तर एकाएक सरकारले २०६७ मा हर्बोसहितका कम्पनीविरुद्द मुद्दा लगेको थियो।
जीवीले नयाँ कम्पनी नेचर हर्बस् इन्टरनेसनल प्रालि दर्ता गरेर २०७७ असार १७ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दर्ता गराएर नेटवर्किङ धन्दा सुरु गरे। उनीहरुले जीवी ग्रुप बनाए। चिया कम्पनी खोले। जताजता सम्भव छ ठग्न, सबैतिर हात हाले।
यसमा आफूसँगै नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी, पूर्वमहान्यायाधिवक्ता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख बाबुराम कुँवर, हर्बोमा रहेका कुमार रम्तेल, आफ्नै दाइ अनन्तबाबु राई लगायतलाई संलग्न गराए।
नाम इन्टरनेशनल राखेसँगै उनले नेपालसँगै सिंगापुर, मलेसिया, हङकङ, कतार, युएई, भारतमा शाखा खोलेर नेटवर्किङ शैलीको धन्दा फैलाए। जानकारहरू सहकारी र नेटवर्किङ व्यवसायबाट जम्मा गरेको अकुत धन उनले आफ्नो कम्पनीको शाखाहरूमा विभिन्न बहानामा पठाएर बाहिर लैजान सफल भए। उनको यो धन्दा २०७७ मै सार्वजनिक भएको थियो। जीवीलेे देश बाहिर बनाएको आर्थिक हैसियत मलेसियामा देखियो। रेड कर्नर जारीहुँँदा पनि मलेसियन सरकार जीवीलाई नेपाल पठाउन सकारात्मक भएन।
नेटवर्किङ धन्दा
२०७४ मा वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी ऐन पारित भए पनि पिरामिडमा आधारित व्यवसायलाई निषेध गरेको छ। तर यही कानुनको भरमा जीवी समूहले विभिन्न आवरणमा धन्दा चलाइरहे। त्यसमा सहकारी पनि मिसियो।
नेपालभर एकै सहकारी खोल्न नमिल्ने भएपछि जीवी समूहले जिल्लैपिच्छे सहकारी खोलेर आफू निकटकालाई नेतृत्व दिए तर कमान्ड आफ्नै हातमा लिए। नेपालभर शाखा विस्तार गर्न पाउनेगरि हाम्रो कृषि सहकारी दर्ता गराए। जानकार स्रोत यो सहकारीको संस्थापकहरू जो देखिए पनि रणनीति भने जीविकै भएको दाबी गर्छन्।
यता ग्यालेक्सी फोरके टेलिभिजनको हल्ला खुबै चलिरहेको थियो। ब्रान्ड प्रमोसनमा रवि फ्रन्ट लाइनमा थिए। जीवीको संलग्नता सार्वजनिक भइसकेको थिएन।
२०७९ भदौमै जीवी कानुनले प्रतिबन्ध लगाएको प्रत्यक्ष पिरामिडको कारोबारमा संलग्न रहेका समाचार सार्वजनिक भए। त्यो बेलामा जीवीसँगै छविलाल र कुमार रम्तेलले कसरी अवैध पिरामिड शैलीको धन्दा चलाइरहेका छन् भन्ने प्रमाणसहित सार्वजनिक भए पनि रविले चासो दिएको देखिएन।
उनी उल्टो ग्यालेक्सी फोरके आउँदा आफ्नो व्यवसाय डुब्ने डरले मिडिया सञ्चालकहरूले बदनाम गराउने प्रयास गरेको कुतर्क गरिरहे। उनले ग्यालेक्सी फोरके सञ्चालन गर्ने गति तीव्र बनाए र सुरु पनि गराए।
OOO
पाँच वर्ष सहकार्य गर्ने सर्तमा सहकार्य गरेको भनिए पनि रवि टेलिभिजन सुरु भएको आठ महिनामै टेलिभिजनबाट अलग भएर राजनीतिमा लागे। रवि टेलिभिजनबाट बाहिरिएपछि ग्यालेक्सी आर्थिक सङ्कटमा पर्दै गयो। जीवीको ओरालो यात्रा सुरु भयो। उता रविलाई राजनीति फाप्यो।
रविले टेलिभिजन छाडे पनि जीवी र रविको सम्बन्ध भने घनिष्ठै थियो। रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भएर चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि उनलाई सघाउन जीवी चितवनमै बसेर तन, मन अनि धन सबैबाट सहयोग गरिरहेका थिए। रविको कोर टिमको बास चितवनमा रहेको जीविकै रिसोर्टमा थियो।
रवि सांसदहुँदै उपप्रधान तथा गृहमन्त्री बन्दा उता जीवी भने निरन्तर आर्थिक सङ्कटमा फस्दै गए। सहकारी ठगीमा उनी जोडिँदै गए। शुर्यदर्शन सहकारीको संस्थापक अध्यक्षको रूपमा सहकारी क्षेत्रमा प्रवेश गरेका उनले दाइ, भाइ, सहयोगी सबैका नाममा सहकारीहरू खोल्दै ८ बढी सहकारीमा रहेका बचतकर्ताको रकम दुरुपयोग भएको सार्वजनिक भए पनि जीवी भागिसकेका थिएनन्। उनलाई रविको राम्रै साथ थियो।
निकटकाले जीवीसँगको सम्बन्ध तोड्न सुझावदिँँदा'आफ्नैै कारण टिभीमा फसेेको' भन्ने जवाफ दिन्थेे।
२०७९ मंसिरबाटै उकेराले बुटवलको सुप्रिम सहकारीमा जीवी राई र उपराष्ट्रपतिका छोरा दीपेश पुनको संलग्नताबारे शृङ्खलाबद्ध समाचार प्रकाशित गरिरहेको थियो। सुप्रिमले बचतकर्ताहरूको रकम फिर्ता नगर्दा विवाद भइरहेको थियो।
सुप्रिमबाट सहकारी ठगीमा जोडिएका जीवी सुर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा लगायतका सहकारीमा समेत संलग्न रहेको सार्वजनिक भयो।
उकेराले रविको नागरिकता निष्क्रिय रहेको समाचार प्रमाणसहित सार्वजनिक गर्यो। २०७९ मंसिर ४ को निर्वाचनमा रवि निर्वाचित भए।
तर निष्क्रिय नागरिकताको विवाद सर्वोच्च अदालतमा पुग्यो। २०७९ माघ १३ मा अदालतबाट उनको नागरिकता निष्क्रिय रहेको ठहर भयो। एकै पटक गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद गुम्यो।
रिक्त भएको चितवन २ मा निर्वाचन आयोगले २०८० वैशाख १० मा उप-निर्वाचनहुँदा पार्टीबाट रवि नै उम्मेदवार बने र निर्वाचित भए।
निष्क्रिय नागरिकता सक्रिय बनाए। दोहोरो राहदानीको प्रयोग सत्ताशक्तीको प्रयोग गराएर महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराए।
बचतकर्ताको रकम फिर्ता नगरेको विवाद बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीमा २०८० भदौमा सुर्यदर्शनका सञ्चालकविरुद्ध जाहेरी दर्ता भएर जीवीसहितको नाममा पक्राउ आदेश जारी भएपछि जीवी अर्ध भूमिगत भए। कुमार रम्तेल पक्राउ परेपछि भने उनी देशै छाडेर भागे।
सुर्यदर्शनबाट रविको नाममा पुलेको कर्जा शीर्षकमा ऋण प्रवाह भएको विवरण सार्वजनिक भएसँगै सहकारी ठगीमा रवि पनि जोडिए।
सुप्रिमबाट पनि उनको नाममा पैसा गएको देखियो। गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीको ८० करोड बढी रकम गएको खुल्यो। रवि १५ प्रतिशत सेयरसहित त्यसको प्रबन्ध निर्देशक रहेको खुलेसँगै रवि पनि सहकारी ठगीमा जेलिए।
अनि उनी सहकारीबाट गोर्खा मिडियामा पैसा आएको थाहै नभएको भन्दै पन्छिदैजाँदा शुक्रवार जीवी समूह र सङ्कटग्रस्त सहकारीमा रहेका बचतकर्ताहरूको रकम दुरुपयोगमा जोडिएका जीवी र रविबारे समेत छानबिन गर्न गठित संसदीय विशेष समितिमा १० घण्टा बयान दिन पुगे रवि। जीवीले ग्यालेक्सी टिभीमा लगाउने लगानी पिरामिड शैलीको अवैध धन्दाबाट कमाएको र सहकारीमा रहेको वचतकर्ताहरुको रकम हो भन्नेबारे रवि जानकार रहेको माथिकै तथ्यहरूले नै पुष्टि गर्छ नै।
तर जब अनुसन्धान संसदीय समितिसम्म पुग्यो उनले हिजो थाहै छैन भन्ने शैलीमै ‘दोस्रो पटक’ अर्थात् २०८० वैशाख १० अगाडिसम्म जीवी राईले गरिरहेको गलत गतिविधीबारे जानकारी नभएको नयाँ दाबी गरे।
अनि टेलिभिजनमा जीवीले गर्ने लगानीको स्रोतबारे ध्यान नदिनु गल्ती भएको भन्दै पुन सहानुभूतिको खेल खेले। संसदीय समिती यो सहानुभूतीको जालमा फस्छ या उम्कन्छ, प्रतिवेदनले खुलाउने छ नै।
भदौ ७, २०८१ शनिबार १७:३१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।