मन्त्रिपरिषद्मा ९ प्रतिशत मात्रै महिला सहभागी गराएका प्रधानमन्त्रीले भने 'महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु'

मन्त्रिपरिषद्मा ९ प्रतिशत मात्रै महिला सहभागी गराएका प्रधानमन्त्रीले भने 'महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु'

काठमाडौं : शनिबार काठमाडौंमा आयोजित काठमाडौं युथ कन्क्लेभमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताए। 

तर, ओली नेतृत्वको मन्त्रिपरिषद्मा जम्माजम्मी ९ प्रतिशत सहभागिता छ। कांग्रेस र एमालेको गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीले मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री आरजु राणा देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई मात्रै महिला मन्त्री छन्। 

तर, उक्त युथ कन्क्लेभमा प्रधानमन्त्री ओलीले भने, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने? भन्ने प्रश्नको जवाफमा ओलीले भने, रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ। तर, छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’

त्यतिमात्र हैन, उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी पनि गरे। 

जबकि संघीय मन्त्रिपरिषद् संविधानको धारा ७६ ले समावेशी सिद्धान्त बमोजिम हुनुपर्ने उल्लेख गरेको छ। संविधानमा उल्लेखित समानुपातिक समावेशी सिद्धान्तका आधारमा २५ सदस्यीय संघीय क्याबिनेटमा ३३ प्रतिशत महिलालाई अनिवार्य सहभागी गराउँदा आठ जना महिला मन्त्री हुनैपर्छ। तर, ओली क्याबिनेटले यसलाई पनि कुल्चिएको छ। 

चौतर्फी आलोचनापछि सरकारले कांग्रेसकी रुपा विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाएर दलित र महिलाको संख्या अटाउँदै फेस सेभिङ गरेको छ। तथापि ओली क्याबिनेट अझै समावेशी बनिसकेको छैन।  

भदौ ७, २०८१ शनिबार १७:१७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।